लमजुङ ।
लमजुङमा गत वर्षको तुलनामा करिब १० प्रतिशतले धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ ।
धान खेतीका लागि समयमै बर्षा भएको र पर्याप्त सिँचाईका कारण यसवर्ष जिल्लामा धान उत्पादन वृद्धि भएको कार्यालयको दावि छ ।
कार्यालयका अनुसार जिल्लामा यसवर्ष ३१ हजार एक सय ५८ मेट्रिकटन धान उत्पादन भएको छ । गत वर्षमात्रै जिल्लामा २८ हजार ६ सय ४७ मेट्रिकटन धान उत्पादन भएको कार्यालयको तथ्याँकमा उल्लेख छ ।
कार्यालयका अनुसार जिल्लामा यसवर्ष नौहजार तीनसय ८९ हेक्टर क्षेत्रफलमा धान खेती भएको कृषि ज्ञान केन्द्र लमजुङका सुचना अधिकारी एवं कृषि बालि संरक्षण अधिकृत विजय पौडेलले बताउनुभयो । सूचना अधिकारी पौडेलका अनुसार सो क्षेत्रफल मध्ये ९ हजार तिन सय एक हेक्टर क्षेत्रफलमा बर्खे धान खेती भएको थियो ।
जिल्लामा विशेषगरी साबित्री, रामधान, सुक्खा २ र ३, हाईब्रिड युएस ३१२, जातको धान खेती हुँदै आएको छ । बर्षे धानबाहेक जिल्लाका विभिन्न क्षेत्रमा हार्दिनाथ जातको चैते धान खेती पनि हुने गरेको छ ।
जिल्लाका ठूला फाँटका रूपमा रहेका अल्काटार, साइलीटार धमिलीकुवा, भलाखर्क, राइनासटार, रामचोकफाँट, चक्रतीर्थ, भोर्लेटार, दुईपिप्ले, सुन्दरबजार, परेवाडाँडा, सत्रसयफाँट लगायतका ठाउँमा बढी धान उत्पादन हुँदै आएको छ ।
कार्यालयको तथ्याँक अनुसार जिल्लामा ४५ हजार ५० हेक्टर क्षेत्रफल जमिन खेतीयोग्यमध्ये पछिल्लो वर्षहरुमा भने धान खेती कमी हुँदै आएको छ । पर्याप्त जनशक्तीको अभावकै कारण पनि विगतको तुलनामा धान खेतीमा कमी हुँदै आएको हो ।
जिल्लामा कुल जमिनको क्षेत्रफल एकलाख ६९ हजार दुईसय २० हेक्टर मध्ये करिव ३५ प्रतिशत जमिन मात्रै खेतीयोग्य रहेको छ । कार्यालयका अनुसार कुल खेतीयोग्य जमिन मध्ये पनि नौसय बढि हेक्टर जमिन बाँझो रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
यस्तै जिल्लामा खेतीयोग्य जमिन मध्ये करिव पाँचहजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाईको व्यवस्था छ । सो बाहेक मौषमी सिंचाई हुने गरेको र करिव ३० हजार हेक्टर जमिन असिंचित रहेको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया