रविमाथिको अनुसन्धान अझै १३ दिन थपियो


काठमाडौं ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि रास्वपा सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अझै थप १३ दिनको म्याद थपेको छ।

गत कात्तिक २ मा पक्राउ गरी अनुसन्धानका लागि पोखरा प्रहरी हिरासतमा राखिएका रविलाई प्रहरीले २५ दिनको म्याद मागेको भए पनि जिल्ला अदालतले आइतबार १३ दिन म्याद थप गर्न अनुमति दिएको हो।

लामिछानेसहित समान कसुरमा हिरासतमा रहेका चार जनालाई अनुसन्धानका लागि १३ दिनको अनुमति दिएको छ। ‘न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलगायत चारै जनालाई १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको छ’ –अदालतका सूचना अधिकारी सुरज अधिकारीले भन्नुभयो।

अधिकारीका अनुसार लामिछानेका व्यावसायिक साझेदार गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, उस्तै कसुरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई १३ दिन हिरासतमा राख्न म्याद थप भएको छ। लामिछानेलाई शुरूमा ६ दिन, त्यसपछि ७ दिन र १० दिन म्याद थप गरी अनुसन्धानपछि चौथोपटक १३ दिन म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।