काठमाडौं ।
स्वास्थ्य सेवाका सूचक तथा प्रस्तुतीकरणको आधारमा बागमती प्रदेशका ९ वटा सरकारी स्वास्थ्य संस्था पुरस्कृत भएका छन्। गत ५ देखि ७ कात्तिक सम्म हेटौँडामा चलेको आर्थिक वर्ष २०८०/०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको प्रदेश स्तरीय वार्षिक समीक्षा कार्यक्रमहरू ती संस्थाहरूलाई पुरस्कृत गरिएको हो।
स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका निर्देशक डा. नरेन्द्रकुमार झाका अनुसार तोकिएका सूचकहरु तथा प्रस्तुतीकरणको मूल्याङ्कनको आधारमा जनस्वास्थ्य कार्यालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र अस्पतालहरुको छुट्टा छुट्टै मूल्याङ्कन गरिएको थियो।
मूल्याङ्कनका क्रममा जनस्वास्थ्य कार्यालय तर्फ ७५.२४ अङ्कका साथ जनस्वास्थ्य कार्यालय ललितपुर प्रथम भएको छ। यस्तै ७३.५७ अङ्कका साथ जनस्वास्थ्य कार्यालय चितवन दोस्रो र ७२.४९ अङ्कका साथ जनस्वास्थ्य मकवानपुर तेस्रो भएको छ।
यस्तै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तर्फ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रथम, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुर दोस्रो र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुर तेस्रो भएको छ।
यसैगरी अस्पतालहरू तर्फ भक्तपुर अस्पताल प्रथम, सिन्धुली अस्पताल दोस्रो र मकवानपुर अस्पताल तेस्रो भएका छन्।
यसअघि स्वास्थ्य संस्थाहरूको मूल्याङ्कन गर्न सागर घिमिरेको संयोजकत्वमा सात सदस्यीय मूल्याङ्कन टोली गठन गरिएको थियो। टोलीले स्वास्थ्य सेवाका तोकिएका सूचक तथा प्रस्तुतीकरणको समेत मूल्याङ्कन गरी पुरस्कृत गर्न सिफारिस गरेको थियो।
निर्देशक डा. झाले पुरस्कृत अस्पताल तथा आयुर्वेद स्वास्थ्य केन्द्रहरूलाई पुरस्कार स्वरूप औषधि राख्न मिल्ने ५०० देखि ३०० लिटरका रेफ्रिजरेटर उपलब्ध गराइएको बताए। यस्तै पुरस्कृत जनस्वास्थ्य कार्यालयलाई प्रिन्टरहरु उपलब्ध गराउने निर्णय भएको बताए ।
समीक्षाको गोष्ठीको अन्तिम दिन संस्थाहरूलाई पुरस्कृत गर्न बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामा, स्वास्थ्य मन्त्री किरण थापा, स्वास्थ्य सचिव बद्रीबहादुर खड्का र निर्देशनालयका निर्देशक डा झाले प्रशंसा पत्र सहित सम्मान गरेका थिए।
पुरस्कृत भएका जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेलले थप जिम्मेवारी बढेको भन्दै यसले काम गर्न उत्प्रेरित बनाएको समेत सुनाए । उनले टिमवर्कले सफलता पाएको भन्दै आफ्ना सहकर्मीहरूलाई धन्यवाद दिए।
प्रतिक्रिया