ओली सरकारका १०० दिन: लिएका लक्ष्यमध्ये ७० प्रतिशत सम्पन्न, ३० प्रतिशत अधुरै

सहकारी ठगीमा कारबाहीदेखि अर्थतन्त्र सुधार भएको दाबी


–१७ वर्षदेखि थाती रहेको शान्ति प्रक्रियाको कामलाई निष्कर्षमा
–२७४ मध्ये १८५ कार्य सम्पन्न
–३९१ व्यक्तिको परिवारलाई २ लाख रुपियाँका दरले राहत
– ३० लाख दुग्ध किसानमध्ये १५ लाखले भुक्तानी पाएको दाबी
–१६५ युवालाई २५ लाखको दरले स्टार्टअप कर्जा
–राजस्व ३ प्रतिशतले वृद्धि भएर २४८ अर्ब
–६०० भन्दा बढी ‘सहकारी ठग’हरू कानुनी कारबाहीमा

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले १ सय दिनमा लक्ष्य लिएकामध्ये ७० प्रतिशत कार्य सम्पन्न भएको दाबी गर्नुभएको छ। प्रधानमन्त्री ओलीले बुधबार पत्रकार सम्मेलन गर्दै आफ्नो सरकारले गरेको सय दिने कार्यको फेहरिस्त प्रस्तुत गर्नुभएको हो।

उहाँले १७ वर्षदेखि थाती रहेको शान्ति प्रक्रियाको कामलाई निष्कर्षमा पु¥याउन आफ्नो सरकार सफल भएको बताउनुभयो।
प्रधानमन्त्री ओलीले सेवा प्रवाह सुधार र सुशासनका सवालमा समेत उल्लेख्य काम भइरहेको दाबी गर्दै यस सय दिनको अवधिमा सहकारी ठगमाथि कारबाही अगाडि बढेको तथा अर्थतन्त्रमा सुधारको संकेत देखिँदा व्यवसायी उत्साही भएको जिकिर गर्नुभयो।

उहाँले विभिन्न मन्त्रालयका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरी कामलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिएको बताउँदै भन्नुभयो ‘नयाँ भन्दा थालेका कामलाई योजना बनाएर अगाडि बढेका छौं। यसैका आधारमा मन्त्रीसँग कार्यसम्पादन सम्झौता भएको थियो,’ ‘सय दिनभित्र गर्न सकिने कामलाई प्राथमिकतामा राख्दा गर्ने भनिएका २७४ वटा काम थिए। जसमा ७० प्रतिशत अर्थात् १८५ वटा काम गरिसकेका छौं।’

ओलीले त्यसरी कामको फेहरिस्त बताए पनि नागरिकमा भने सरकार बनेयता आशाको सञ्चार वृद्धि हुन नसकेको टिप्पणी हुँदै आएको छ । प्रधानमन्त्री ओलीले आफ्नो सरकारको सय दिने उपलक्ब्धि उल्लेख गर्दै उखु र दुग्ध किसानलाई भुक्तानी गरेको, बिमाको रकम, रासायनिक मल ल्याउने प्रबन्ध र ठेकेदारलाई भुक्तानीसहितको काम गरेको जानकारी दिनुभयो । उहाँले सरकारको तीव्र काम गरिरहेको अवस्थामा बाढी र पहिरोपछिको विपत्तिले ब्रेक लगाएको बताउनुभयो । गत असोजको दोस्रो साता आएको बाढीपहिरोको विपत्तिमा परी निधन भएका ३९१ व्यक्तिका परिवारलाई २ लाख रुपियाँका दरले राहत दिइएको ओलीले स्पष्ट पार्नुभयो ।

उहाँले दुई हजार ५५५ परिवारलाई ४ करोड ५० रुपियाँ राहत दिएको बताउनुभयो । संकटग्रस्त ७१ स्थानीय तहमा ४३ करोड रुपियाँ राहत दिएको उहाँले जानकारी दिनुभयो । सडक, खानेपानी, बिजुलीसहितका पूर्वाधार निर्माण १५ दिनभित्र सकाउन निर्देशन दिएको उहाँले स्पष्ट पार्नुभयो । रूकुम, बझाङ र बाजुरामा गएको भूकम्पपछिको पुनर्निर्माणका लागि १५ दिनभित्र दोस्रो किस्ता पठाउने घोषणा उहाँले गर्नुभयो ।

३५ जिल्लामा ३० लाख दुग्ध किसानमध्ये १५ लाखले भुक्तानी पाएको दाबी गर्दै प्रधानमन्त्री ओलीले यसका लागि ६० करोड निकासा भएको बताउनुभयो । उहाँका अनुसार कृषिबाली र पशुधन बिमाका लागि ८० करोड रुपियाँ बिमा प्राधिकरणको खातामा सरकारले पठाएको छ । निर्माण सम्पन्न गर्ने व्यवसायीलाई ६ अर्ब ७५ करोड रुपियाँको भुक्तानी पनि सरकारले यही सय दिनमा गरेको उहाँले बताउनुभयो ।

१६५ युवालाई २५ लाखको दरले स्टार्टअप कर्जा दिएको र थप ५ हजार १५८ जनालाई पुस मसान्तभित्र कर्जा दिने प्रधानमन्त्री ओलीको दावी छ । उहाँले स्वास्थ्य क्षेत्रमा प्रभावकारी काम भइरहेको दाबी गर्दै सातवटै प्रदेशमा जलनको निःशुल्क उपचार गरिएको जानकारी दिनुभयो ।

क्यान्सर रोगको उपचार तीनवटा प्रदेशबाट सात वटामा विस्तारलाई पनि उहाँले सरकारको उपलब्धि भएको बताउनुभयो । देशभरका १९ वटा संघीय अस्पतालमा दुई सिफ्टमा बहिरंग सेवा र १८ वटा संघीय अस्पतालमा सहज उपचार सेवाका लागि टोकन प्रणाली लागू गरिएको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो ।

ट्रायल पास गर्नासाथ नागरिक एपमा लाइसेन्स पाउने, सवारी नियम उल्लंघन भएकै ठाउँबाट जरिवाना रकम तिर्न सकिने, सरकारी फाइलको अवस्था घरबाटै बुझ्न सकिने, २६७ वटा मालपोत कार्यालयमा ज्येष्ठ नागरिक, अपागंता भएका र अशक्त नागरिकले लाइन नबसी सेवा पाउने कार्यको थालनी गरेको उहाँको भनाइ छ ।

वैदेशिक रोजगारीमा ज्यान गुमाउनेका परिवारलाई ७ लाख रुपियाँ दिइँदै आएकोमा १० लाख पु¥याउने सरकारले घोषणा गरेको छ । कात्तिक २४ देखि भैरहवाबाट फ्लाई दुबई र जजिरा एयरलाइन्सले उडान गर्ने विषय पनि सरकारको उपलब्धिमा उल्लेख छ।

प्रधानमन्त्री ओलीले सय दिनमा अर्थतन्त्रमा सुधार आएको दाबी गर्नुभयो । दुई सय उद्योगमा ३४ अर्ब रुपियाँको प्रतिवद्धता आएको र सेयर बजार बढेको भन्दै यसलाई सरकारले उपलिब्धको रूपमा लिएको छ । भारतको सिलगुढीदेखि झापाको चारआलीसम्म र अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार र टर्मिनल भवन बनाउनका लागि नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनसँग सम्झौता भएको प्रधानमन्त्रीले जानकारी दिनुभयो । संघीय सरकारी खर्च वृद्धि भई ३२९ अर्ब पुगेको र राजस्व ३ प्रतिशतले वृद्धि भएर २४८ अर्ब पुगेको उहाँले स्पष्ट पार्नुभयो।

प्रधानमन्त्री ओलीले सहकारी ठगी गर्नेमाथिको कानुनी कारबाही सरकारको अर्को उपलब्धि भएको बताउनुभयो । ओलीले ६०० भन्दा बढी ‘सहकारी ठग’हरू कानुनी कारबाहीमा परेको दाबी गर्नुभयो। ‘सहकारी ठगी गर्ने व्यक्तिहरूमाथि कानुनी कारबाही अघि बढेको छ । हालसम्म ६०० भन्दा बढीलाई कानुनी कारबाही गरिएको छ । ५७५ भन्दा बढी त जेलमै छन्’ – ओलीले भन्नुभयो।