तनहुँको बुद्धसिंह मार्ग २० दिनदेखि अवरुद्ध


दमौली ।

तनहुँको बुद्धसिंह मार्गअन्तर्गत नाल्दीघाट खण्ड २० दिनदेखि अवरुद्ध हुँदा सर्वसाधारण मारमा परेका छन्। चाडपर्वका बेला बाटो अवरुद्ध हुँदा कष्टकर यात्रा गर्नुपरेको उनीहरूको गुनासो छ।

बुद्धसिंह मार्गका दर्जनौँ ठाउँमा पहिरो खसे पनि अधिकांश ठाउँको पहिरो पन्छाइएको थियो। तर, नाल्दीघाटको पहिरो अझैसम्म हटाइएको छैन। पहिरोका कारण उक्त सडकको व्यास नगरपालिकास्थित बेलबास, सुँडे, मास्दी, खहरे, नाल्दी, सराङघाट, तल्लो साराङघाट तथा प्यूघरलगायत स्थानमा सडक अवरोध भएको थियो। नाल्दीको पहिरो हटाउन पटकपटक माग गरे पनि सुनुवाइ नभएको बुद्धसिंह मार्ग सरोकार समितिका संयोजक सिद्धान्त थापाको गुनासो छ।

नाल्दीको पहिरोका कारण यातायात सञ्चालन नहुँदा बन्दीपुर गाउँपालिका–६, आबुँखैरेनी गाउँपालिका–५, देवघाट गाउँपालिका–३ र ४ का जनता मारमा छन्। उक्त सडकको पहिरो पन्छाई यातायात सञ्चालन गराउन बन्दीपुर गाउँपालिकाका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी र पूर्वाधार विकास कार्यालयका प्रमुखलाई ध्यानाकर्षण गराइए पनि प्रगति नभएको थापाले बताए।

गण्डकी प्रदेश सरकारले यस मार्गलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्न प्रक्रिया अघि बढाइसकेको छ। सदरमुकाम दमौलीबाट चितवनको घुमाउनेसम्म जोड्ने सो मार्गअन्तर्गत दमौलीबाट सुँढेसम्म कालोपत्रका लागि निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालनी गरेको छ।

दमौलीबाट सुडेसम्म करिब दश किमी खण्डमा ‘आक्सफाल्ट प्रविधि’ को सडक कालोपत्रका लागि निर्माण अघि बढाइएको छ। पूर्वाधार विकास कार्यालयले मैनाचुली–सफल जेभी काठमाडौंसँग २०७९ भदौ २७ मा सडक कालोपत्रका लागि सम्झौता गरेको थियो।

मूल्य अभिवृद्धि करसहित ३४ करोड २७ लाख ५४ हजार पाँच सय ६० मा सम्झौता गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए। उनका अनुसार उक्त खण्डको कालोपत्र २०८२ जेठ ३० गतेसम्ममा सम्पन्न गर्नुपर्ने छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।