कृषकहरूको आयस्तर वृद्धि गर्न निजी क्षेत्र र सहकारीको भूमिका महत्त्वपूर्ण : मन्त्री अधिकारी


काठमाडौँ। 

कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले कृषकहरूको आयस्तर वृद्धि गर्न निजी क्षेत्र र सहकारीको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।  शनिवार मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको छैटौँ वार्षिक उत्सवमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले निजी क्षेत्रको लगानीलाई आकर्षित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए। 

उनले रैथाने खाद्यान्नको प्रवर्द्धन गर्ने, रासायनिक विषादीको प्रयोगलाई न्यूनीकरण गरी स्वच्छ उत्पादन गर्ने, अनुदान प्रणालीलाई व्यवस्थित र संस्थागत गर्ने, चक्लाबन्दी र सामूहिक खेतीलाई प्रवर्द्धन गर्ने विषयलाई सरकारले मुख्य प्राथमिकतामा राखेको बताए । 

मन्त्री अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय योजना आयोग, राष्ट्रिय किसान आयोग, गाउँपालिका महासङ्घ, नगरपालिका सङ्घ, राष्ट्रिय सहकारी महासङ्घ, उद्योग वाणिज्य महासङ्घ, विकास साझेदार र कृषि क्षेत्रका विभिन्न २५० भन्दा बढी सरोकारवालाहरूको उपस्थितिमा कार्यत्रपत्र प्रस्तुत गरिएको थियो । 

त्यस्तै कार्यपत्रमाथि आफ्ना दृष्टिकोण राख्ने क्रममा वक्ताहरूले सङ्घ सरकार नीतिगत व्यवस्थापनमा, प्रदेश सरकारहरू औद्योगिक आयोजनाको विकासमा, स्थानीय सरकारहरू उत्पादन र वितरणमा, निजी क्षेत्र प्रविधि प्रसार, उद्योगहरूको सञ्चालन तथा व्यवस्थापन र बजारीकरणमा, सहकारी क्षेत्र कृषक र उपभोक्ताहरूलाई तल्लो तहसम्म सेवा प्रदान गर्ने संस्थागत संरचनाको रूपमा र विकास साझेदारहरू क्षमता अभिवृद्धि र सामाजिक विकासमा लाग्नुपर्नेमा  जोड दिएका थिए । 

राष्ट्रिय योजना आयोगका सदस्य डा. जयवहादुर टण्डनले निजी क्षेत्रको लगानीलाई आकर्षण गर्न बलियो नियमनकारी निकाय आवश्यकताको विषय उचित रहेको बताउँदै यसलाई छलफलमा ल्याउनुपर्नेमा जोड दिए ।