दुई दिनदेखि बन्द बेनी–दरबाङ सडक खुल्यो, यातायात सुचारु

1.03k
Shares

म्याग्दी।

अविरल वर्षासँगै पहिरो खसेर दुई दिनदेखि बन्द भएको पश्चिम म्याग्दीको बेनी–दरबाङ सडक आज बिहानदेखि खुलेको छ । बेनी नगरपालिका–४, तातोपानी र मंगला गाउँपालिका–२, सिमलचौरको सिमानामा पर्ने घुमाउनेभीरमा सडकभन्दा माथिबाट खसेको पहिरो पन्छाएर सडक खुलाइएको हो ।

वर्षासँगै सडकमा खसेर थुप्रिएको ढुङ्गा, माटो र गेगरलाई जेसिभी मेसिनको सहयोगले हटाएपछि सडक खुलाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बेनी–दरबाङ सडकमा वर्षासँगै पहिरो खसेपछि गएको शनिवार रातिदेखि नै सडक बन्द भएको थियो । पहिरोको अवरोध पन्छाएर सडक खुलेपछि अहिले यातायात सेवा सुचारु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

सडक खुलेसँगै पहिरोका कारण बीच सडकमा रोकिएका सवारीसाधनहरु आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । पहिरोले सडकमा यातायात सेवा बन्द हुँदा यात्रु तथा सर्वसाधारणलाई यात्रा गर्न जोखिम हुनुका साथै सिमलचौर–पखेर–मसार भएर घुमाउरो बाटोमा यात्रा गर्नुपर्ने सास्ती झेलेका थिए । कुल २४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकको घुमाउनेभीर खण्ड वर्षात्को समयमा पटकपटक पहिरो खसेर बन्द हुँदै आएको छ ।

बेनी–दरबाङ सडक पश्चिम म्याग्दीको ‘लाइफलाइन’ मानिन्छ । यो सडकले पश्चिम म्याग्दीको मंगला–मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने काम गर्छ । म्याग्दीको पश्चिम भेगका तीनवटा पालिका हुँदै जलजला–ढोरपाटन भएर पूर्वी रुकुमलाई जोड्ने बेनी–दरबाङ सडक रणनीतिक महत्वको साथ अगाडि बढाइएको छ ।

छिमेकी जिल्ला बागलुङको पश्चिमी क्षेत्रका सर्वसाधारणहरुले समेत बेनी–दरबाङ सडकको रुट प्रयोग गर्ने गर्दछन् । बागलुङ–बुर्तिबाङ भएर पूर्वी रुकुम जोड्ने मध्यपहाडी लोकमार्गको विकल्पको रुपमा छोटो दूरीमा पर्ने भएकाले म्याग्दीको बेनी–दरबाङ सडकलाई लिने गरिन्छ ।