डिभाइडरमाथि नै घिस्रियो ट्रक


हेटौंडा ।

सिमेन्टका डिभाइडरले दुर्घटना निम्त्याउने आवाज उठिरहेका बेला शनिबार राति हेटौंडा–५ स्थित सानोपोखरा चोकमा डिभाइडरका कारण दुर्घटना भएको छ। साँघुरो सडकमा जबर्जस्ती बनाइएको उक्त डिभाइडरका कारण भएको दुर्घटनाबारे सरोकारवालाले खासै चासो राखेनन् ।

चालकले मादकपदार्थ सेवन नगरे पनि ‘मोड्ने क्रममा साँघुरो हुँदा दुर्घटना भएको’ प्रहरीसमक्ष बताए । ना. ६ ख २७७० नम्बरको सिमेन्ट लोड गरिएको ट्रकले डिभाइडरको करिब १० मिटर क्षेत्र नै तहसनहस पा¥यो ।

नगरपालिकाले उक्त स्थानको डिभाइडर एकलौटी निर्माण गरेको आरोप लागेको छ । हेटौंडा कान्तिलोपथस्थित सानोपोखरादेखि कान्तिराजपथको एनआईसी बैंकसम्म हेटौंडा उपमहानगरले सडकबीचमा बिना जानकारी-सल्लाह डिभाइडर बनाउने कार्य गरेको हो । सडक डिभिजन कार्यालयले कान्तिलोकपथ सडक योजनालाई कान्तिलोकपथको जिम्मा दिएको छ । तर, योजनाको सहमति र उसलाई जानकारीबिना नगरपालिकाले डिभाइडर निर्माण गरेको हो ।

सडक पिच १८ मिटर र फुटपाथ २ मिटरसहित सडकको चौंडार्इं २० मिटर छ । उक्त सडकमा नगरपालिकाले डभाइडर राख्ने काम गरेको छ । नगरपालिकाले एकलौटी निर्णय गरेर डिभाइडर राखेको कान्तिलोकपथ सडक योजनाका एक इञ्जिनियरले बताएका थिए । ‘यतिको फराकिलो बाटोमा डिभाइडर आवश्यकता पर्दैन,’ योजनाका ती इञ्जिनियरले भने ।

‘सडक दुर्घटना न्यूनीकरण’ गर्ने उद्धेश्यले डिभाइडर निर्माण गरिएको नगरको दाबी छ । जहाँ बढी दुर्घटनाको जोखिम छ, त्यहाँमात्र डिभाइडर निर्माण गरिनुपर्ने प्राविधिकको भनाइ रहे पनि नगरपालिकाले बजारलाई प्राथमिकतामा राखी बिरुवा रोप्ने र डिभाइडर राख्ने काम गरेको थियो ।