‘संघउपनायक भिक्षुमाथि भएको कुटपिटले शान्तिसुरक्षामा गम्भीर प्रश्न’


काठमाडौं।

नेपालका बौद्ध संघसंस्थाहरुले ८४ वर्षीय भिक्षु गुणघोष महास्थविरलाई निर्घात रुपमा कुटपिट गर्नेहरुलाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न माग गरेका छन्।

नेपालका संघउपनाक (दोस्रो जेष्ठ भिक्षु) लाई धुलिखेल स्थित पूर्वाराम विहारमा केही अज्ञात व्यक्तिहरुले गत विहीबार राति कुटपिट गरी भागेको विषयमा आईतबार वक्तव्य जारी गर्दै विभिन्न बौद्ध संघसंस्थाले कारवाही गर्न माग गरेका हुन्। बुद्ध विहार भृकुटीमण्डप, भक्तपुर बौद्ध महिला संघ,बौद्ध युवा कमिटी ललितपुरले छुट्टाछुट्टै जारी विज्ञप्ती शान्तिसुरक्षास्थितलाई गम्भीर प्रश्न तेस्र्याइएको छ।

‘धुलिखेलको आवासीय क्षेत्र, अझ विभिन्न सरकारी कार्यालयको नजिक रहेको विहारमा भएको यस घटनाले शान्तिसुरक्षाको कमजोर र दयनीय स्थितलाई छताछुल्ल पारेको छ । ’ बुद्ध विहारका प्रमुख भिक्षु कौण्डन्यद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ‘यस घटना बुद्धजन्मभूमी नेपालमा बौद्ध भिक्षुहरु नै असुरक्षित रहेको सन्देश विश्वभर फैलिन सक्ने निकै संवेदनशील घटना भएकोले दोषीलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न नेपाल सरकार, गृह प्रशासनसमक्ष जोडदार रुपमा मार्ग गर्दछौं।’यस किसिमको घटना पुनः र अन्यत्र हुन नदिन शान्ति सुरक्षा प्रबन्धलाई मजबुत बनाउनु पनि सरकार समक्ष माग गरिएको छ ।

कुटपिटले भिक्षुको टाउकोमा गम्भीर चोट लागेको छ । जीउभरि नीलडाम र आँखा दुवै रातो हुने गरी सुन्निएका छन्। हाल धुलिखेल अस्पतालको मेडिकल आईसीयु (सघन उपचार कक्ष) मा उपचार गराइरहेका भिक्षुको टाउकोमा रगत जमेको जनाएको छ ।