मौलापुरका वडा अध्यक्षमाथि यौन शोषणको आरोप, नगरपालिकाले बनायो छानबिन समिति


रौतहट । 

एकजना विवाहित महिलाले वडा अध्यक्षमाथि  यौन शोषणको आरोप लगाए पछि मौलापुर नगरपालिकाले घटनाको सत्यतथ्य बुझ्न छानबिन समिति गठन गरेको छ।

रौतहटको मौलापुर ९ का वडाध्यक्ष श्यामकिशोर साहमाथि स्थानीय महिलाले  यौन शोषणको आरोप लगाए पछि सो बारेमा नगरपालिकाले छानबिन गर्न समिति गठन गरेको हो ।

उनकै गाउँकी एक विवाहित महिलाले विगत ५ पाँच वर्षदेखि आफूलाई यौन शोषण गरेको आरोप लगाएपछि मेयर रिना साहको निर्देशनमा उपमेयर नागेन्द्र यादवको अध्यक्षतामा पाँच सदस्सीय छानबिन समिति गठन गरिएको छ । घटना बारे सत्यतथ्य छानबिन गरी समितिले १५ दिनभित्र नगरपालिकामा प्रतिवेदन पेस गर्न भनिएको छ । समितिले घटनाको प्रतिवेदन पेस गरेपछि कस्तो किसिमको कारबाही हुने सो सम्बन्धमा कार्यपालिकाले निर्णय लिने  प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए ।

छानबिन समितिमा वडा १ का वडाध्यक्ष जयनाथ कुशवाहा, कार्यपालिका सदस्य प्रतिमा साह, आशादेवी साह र अच्छेलाल साह अधिकृत छैठौँ सदस्य रहेका छन्।

वडा अध्यक्षकै गाउँकी विवाहित एकजना महिलाले आफूसँग बिहे गर्ने प्रलोभन दिएर यौन शोषण गर्दै आएको आरोप लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि मौलापुर नगरपालिकाले छानबिन समिति गठन गरेको हो। 
-सञ्जय मिश्रा