आगलागी पीडित शाक्यलाई सशस्त्र प्रहरीको राहत


ललितपुर।

ललितपुरको बंगलामुखी नजिक अमिरमान शाक्यको आगलागी भएको घरमा सशस्त्र प्रहरी दक्षिणकाली २१ नं गणबाट खटिएका प्रहरीहरुले ९ थान पाल हालेका छन्।सो गणका सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद धितालको कमाण्डमा २१ जनाको टोली खटिएका हुन्।

जनैपूर्णिमाको दिन सर्वेश्वर महादेवको मेला नै खल्लो हुने गरी भएको आगलागीबाट ४५ लाख बराबरको क्षति भएको थियो।बंगलामुखी परिसरमा सर्वेश्वर महादेवको मेला भइरहेको स्थानबाट दक्षिणतर्फ बंगलामुखीमार्ग (कोबहाल) घर नं २०८५१ करिब डेढ सय मिटर दुरीमा रहेको पुरानो घरमा बिहान ८ः १५ बजेतिर आगलागी भएको हो।

आगो झन्डै डेढ घन्टापछि नियन्त्रणमा आएको थियो । सो गणबाट सशस्त्र प्रहरी निरीक्षक मनोज विष्टको कमाण्डमा २५ जना, नेपाली सेनाको टोली र नेपाल प्रहरी, नगर प्रहरी, स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो।

घरका ढलिन, झ्यालहरुदेखि लत्ता, कपडा ओढ्ने ओछ्याउने जलेर पुरै खरानी भएको थियो। आगो निभाउन ललितपुरको तीन, भक्तपुर र काठमाडौंबाट एक एक वटा दमकल प्रयोग गरिएको थियो। प्रहरीका अनुसार आगलागीबाट कुनै मानवीय क्षति भने हुन पाएन। महानगरीय प्रहरी प्रभाग मंगलबजारका प्रमुख एवं प्रहरी निरीक्षक रुपेन्द्रनारायण श्रेष्ठका अनुसार करिब ४५ बराबरको क्षति भएको हुन सक्ने प्रारम्भिक आंकलन रहेको छ ।

यसैबीच प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठद्वारा स्थलगत निरीक्षण गरी पीडितको राहतलागि प्रक्रिया अघि बढाउने बताए।