श्रीखण्ड तरुमुल महाविहारले भित्र्यायो दिपङ्कर बुद्ध


काठमाडौं। 

काठमाडौंको कुमारी घरसँगै रहेको श्रीखण्ड तरुमुल महाविहारमा बिहीबार विशेष पूजापाठ गरी दिपङ्कर बुद्धको मूर्ति भित्र्याइएको छ । महाविहारका कूल बुहारी डा. रञ्जना धाख्वाः (बज्राचार्य) ले आफ्ना स्वर्गीय पति ई. भक्तानन्द बज्राचार्यको नाममा महाविहारलाई दिपङ्कर बुद्धको मूर्ति दान दिएका हुन् ।

उक्त मूर्तिलाई नक्सालस्थित डा. रञ्जनाको घरबाट गुरुजुको पल्टन र बिहारका सदस्यहरुका साथै विभिन्न सांस्कृतिक बाजागाजा टोलीले बाजागाजासहित नगर परिक्रमा गराई महाविहारमा भित्र्याएका थिए ।

 श्रीखण्ड तरुमुल महाबिहारका राजगुरु मञ्जुश्रीरत्न बज्राचार्यले पञ्चदानमा दिपङ्कर बुद्धको निकै ठूलो महत्व भएको हुँदा महाबिहारमा दिपङ्कर बुद्धको मूर्ति भित्र्याइएको जानकारी दिए । डा. रञ्जना र उनको परिवारले यसअघि पनि महाविहारमा महत्वपूर्ण सहयोग प्रदान गर्दै आएको जिकिर गर्दै भने – ‘यस महाविहारमा दिपङ्कर बुद्धको मूर्ति धेरै अगाडि भएको हुनसक्छ तर अहिले छैन । शाक्यमुनि बुद्धभन्दा निकै अगाडिका दिपङ्कर बुद्धको पञ्चदानमा निकै ठूलो महत्व छ । अहिलेसम्म दिपङ्कर बुद्धको अभाव भइरहेकोमा अबको पञ्चदानदेखि यही मूर्ति अगाडि राखेर महाविहारमा पञ्चदान कार्यक्रम सुरु गर्नेछौं ।’