भारतीय प्रधानमन्त्री मोदी र परराष्ट्रमन्त्री देउवाबीच के विषयमा भयो छलफल ?


काठमाडौं ।

भारत भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री आरजु देउवा राणाले सोमबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटमा परराष्ट्रमन्त्री देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तो मोदीलाई हस्तान्तरण गर्दै नेपाल भ्रमणको निम्तो दिनुभएको छ।

मोदी र देउवाबीच भएको भेटमा आपसी हितका विविध पक्षमा नेपाल भारत सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो। भेटपछि परराष्ट्रमन्त्री देउवाले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भन्नुभएको छ‘नेपालको परराष्ट्रमन्त्रीका रुपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा मैले गरेको छु ।’

भेटमा भारतीय विदेशमन्त्री एस जयंशकर, सुरक्षा सल्लाहकार अजित डोभल लगायत थिए भने नेपालको तर्फबाट दूताबासका उच्च अधिकारीहरु सहभागी थिए । यस अघि परराष्ट्रमन्त्री देउवाले सोमबार नै भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेर विभिन्न विषयमा छलफल गर्नुभएको थियो ।

दुई देशका विदेशमन्त्रीको भेटमा द्वीपक्षीय पहल र विकास आयोजनाहरुमा भएको प्रगतिको समीक्षा गर्नुका साथै थप सहयोग विस्तार तथा उर्जा क्षेत्रको सहकारी विस्तारबारे समेत कुराकानी भएको जनाइएको छ।