पहिरोमा पुरिएर सात जनाको मृत्यु


काठमाडौँ। 

बझाङ, बुंगल नगरपालिका-१० टुमेडा बस्ने ६२ वर्षीय बिर बहादुर धामीको घर गएराति अविरल वर्षाका कारण पहिरोले पुरिँदा ४ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर सोही ठाउँ बस्ने ५५ वर्षीया काली धामी, २५ वर्षीया गोल्की धामी, ६ वर्षीया आकृति धामी र ३ वर्षीया लक्ष्मी धामीको मृत्यु भएको हो ।

 पहिरोले घर बगाउँदा ४ जना बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट पुतलीलेक र इलाका प्रहरी कार्यालय बुंगलबाट खटिएको प्रहरीले बेपत्ता भएकाहरूको खोजी तथा उद्दारको गर्ने क्रममा चारै जनाको शव फेला परेको हो । साथै घरभित्र सुतिरहेका बिर बहादुर समेत ६ जना सामान्य घाइते भएका छन्।

यस्तै जाजरकोट, नलगाड नगरपालिका-२ डाँडागाउँ बस्ने लाल बहादुर परियारको अस्थाई टहरो सोमबार बिहान पहिरोले पुरिँदा ३ जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर लाल बहादुर, उनकी श्रीमती ३५ वर्षीया मनिषा बिक र  छोरा शुभम् परियारको मृत्यु भएको हो ।

 उक्त टहरो पहिरोले पुरिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरीले उद्धार गर्ने क्रममा उनीहरूको शव फेला परेको हो।
प्रहरीले आवश्यक उद्धार कार्य गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।