रमेश खरेलविरुद्ध अख्तियारमा उजुरी


काठमाडौँ।

नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।प्रहरी सेवामा रहँदा खरेलले नक्कली सुराकी खडा गरी कमिशन खाएको जिकिर गर्दै खरेलविरुद्ध आइतबार सिन्धुलीका युवराज सफलले उजुरी दर्ता गरेका हुन् ।

उनले खरेललाई पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गरेका छन् ।

खरेलले हालै एक टेलिभिजन अन्तरवार्तामा पत्नी रञ्जु खरेललाई सुराकी बनाएर कमिसन खाएको बताएका थिए । पत्नीलाई नक्कली सुराकी देखाएर भन्सार कार्यालयबाट कमिसन लिएको भन्दै उनको आलोचना भइरहेको छ । यसैबीच युवराज उजुरी लिएर आज बिहानै अख्तियार पुगेका हुन् ।

वास्तविक सुराकी कर्तालाई सुराक गरेवापत निश्चित रकम दिने कानुनी व्यवस्था रहेता पनि नक्कली सुराकी खडा गरी कमिशन खानु भ्रष्टाचारजन्य कार्य भएकाले खरेलमाथि कारवाही हुनुपर्ने उजुरीमा माग गरिएको छ ।