सञ्चालनमा आउँला त गण्डकी सामुदायिक अस्पताल

940
Shares

स्याङ्जा।

स्याङ्जाको चापाकोट नगरपालिका–२ को गण्डकी ग्रामीण सामुदायिक अस्पताल सञ्चालनका लागि पहल सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले गण्डकी ग्रामीण अस्पताल सञ्चालनमा ल्याउन चापाकोट नगरपालिकालाई अनुरोध गरेको छ । आयोगले स्थलगत निरीक्षणको क्रममा अस्पताल सञ्चालनमा नरहेको देखिएको भन्दै स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ९७ को उपदफा १ (क) बमोजिम सरकारी सामुदायिक तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व नगरपालिकालाई भएको हुँदा उक्त सरकारी सम्पत्ति संरक्षण गर्न र सञ्चालनमा ल्याउन अनुरोध गरेको छ ।

२०६६ मा स्थापना भएको अस्पताल सञ्चालन खर्च व्यवस्थापन गर्न नसकेपछि झन्डै दुई वर्षदेखि बन्द अवस्थामा रहेको छ । सरकारले करोडौँ रकम विनियोजन गरेर बनेका आधुनिक भवन, लाखौँ खर्च गरेर खरिद गरेका अत्याधुनिक प्रविधिका डिजिटल मेशिनहरु अस्पताल सञ्चालनमा नआएसँगै अलपत्र परेका छन् ।
 
यसअघि पुसमा बसेको भेलाले बन्द अवस्थामा रहेको गण्डकी ग्रामीण अस्पताल कसरी हुन्छ छिटो सञ्चालनमा ल्याउनको लागि सिताराम गैह्रैको संयोजकत्व ९ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले अस्पताल समितिले नै चलाउने, अरु कसैलाई सञ्चालन गर्न भाडामा दिने, नगर अस्पताल बनाउने वा चापाकोट अस्पतालसँग मर्जर गरेर अगाडि बढ्ने विषयमा आवश्यक छलफल गर्ने बताएको थियो । कार्यदल बनेको ६ महिना बढी भइसकेको छ । यसले विभिन्न चरणमा अनौपचारिक छलफल गरे पनि अहिलेसम्म औपचारिक प्रतिवेदन समितिलाई पेश गरेको छैन् ।

गण्डकी ग्रामीण सामुदायिक अस्पताल, चापाकोटमा साउन २६ गते बसेको भेलाले अस्पताल सञ्चालक समितिका अध्यक्ष हरि पंगेनीको संयोजकत्वमा ९ सदस्यीय नयाँ कार्यदल गठन गरेको छ । यस अघि गठन भएको कार्यदललाई वेवास्ता गर्दै समितिका अध्यक्ष पंगेनीको संयोजकत्वमा नयाँ कार्यदल गठन गरिएको हो । कार्यदलको सदस्यहरुमा विमला श्रेष्ठ, दिलकुमारी थापा, टिकाराम श्रेष्ठ, भुपराज वस्ती, रामु कोइराला, टोपलाल न्यौपाने, कृष्णप्रसाद सुवेदी र शेषकान्त भण्डारी छन् ।

लामो समयदेखि बन्द रहेको अस्पताल सञ्चालन गर्न कार्यदललाई भेलाले अधिकार प्रत्यायोजन गरी कामको जिम्मा दिने निर्णय गरिएको समितिका एक सदस्यले जानकारी दिए । स्तरीय सेवा सुविधासहित अस्पताल सञ्चालन गर्नका लागि विभिन्न गैह्र सरकारी संघ संस्था तथा अन्य निकायहरुसँग परामर्श गरी आवश्यक सहयोग गर्न, सहकार्य गर्न, सशर्त आवधिक रुपमा सञ्चालनको जिम्मा दिन, करार सम्झौता गर्न वा सञ्चालनका लागि आवश्यक पर्ने अन्य निर्णय गर्न कार्यदललाई सम्पूर्ण अधिकार प्रत्यायोजन गरिएको छ । 

अहिले गण्डकी ग्रामीण सामुदायिक अस्पताल, चापाकोटको सञ्चालक समितिले अस्पतालको पूर्व सेयर सदस्य एवं अहिलेका सहयोगदाताहरुलाई घरघरमा गएर माइन्युटमा हस्ताक्षर गर्ने अभियानलाई तिब्र दिएको समितिका एक सदस्यले जानकारी दिए । उनका अनुसार हस्ताक्षर अभियान सम्पन्न हुनासाथ कार्यदलले महत्त्वपूर्ण निर्णय गर्ने तयारी भइरहेको छ । यस्तै जेनतेन संचालन भइरहेको भीरकोटको कालिका सामुदायिक अस्पताललाई नगरपालिकाले संचालन गर्न थालेपछि गति लिएको छ ।