एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा आचार्य चयन

1.97k
Shares

बुटवल। 

नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा  मुख्यमन्त्री चेतनारायण आचार्य चयन भएका छन्  । शनिवार बुटवलमा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री आचार्यलाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो । आचार्य यसअघि दलको उपनेताका रुपमा रहेका थिए ।

संसदीय दलको नेतालाई छाडेर पार्टीको केन्द्रीय नेतृत्वले उपनेता आचार्यलाई मुख्यमन्त्री बनाएपछि तत्कालीन दलको नेता रहेका  पूर्व मुख्यमन्त्री लीला गिरीले दलको नेताबाट राजीनामा दिएका थिए । आचार्य मुख्यमन्त्री नियुक्त भएकै दिन गिरीले साउन ७ गते राजीनामा दिएका थिए।

शनिवार बुटवलमा बसेको २६ जना प्रदेश सभा सदस्यको सर्वसम्मत निर्णयबाट आचार्यलाई दलको नेता चयन गरिएको पार्टीले जनाएको छ । दलको उपनेतामा भोजप्रसाद श्रेष्ठ, प्रमुख सचेतकमा तुलसीप्रसाद चौधरी र सचेतकमा यमुना रोकालाई चयन गरिएको छ ।

त्यस्तै, सचेतक रहेकी सीता शर्मा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बनेपछि सचेतकमा रोकालाई चयन गरिएको हो ।

बैठकले मंगलबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । बैठकमा पूर्व दल नेता गिरीको उपस्थिति थिएन ।

लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ गरी ५६ जनाको समर्थनमा आचार्यले साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका हुन् । एमालेमा दल नेता चयन हुन नसकेको र कांग्रेसभित्र मन्त्री छनोटको किचलोले सरकारले पूर्णता पाउन सकेको छैन् । 

 अहिले मुख्यमन्त्रीसहित लुम्बिनीमा एमालेका ५ र कांग्रेसका ४ मन्त्री छन् । कांग्रेसले थप एक मन्त्री सिफारिस गर्न बाँकी छ । १२ मन्त्रालय रहेको लुम्बिनीमा २ मन्त्रालय साना दलका लागि राखिएको बताइएको छ । तर, सरकारलाई समर्थन गरेका लोसपा, जसपा र नागरिक उन्मुक्ति तिनवटै दलले मन्त्रालयमा दाबी गरेको र दुई मन्त्रालय मात्र रहेकाले सरकार अप्ठ्यारोमा परेको छ ।