प्रेरणादायी माइकल जर्डन

0
Shares

सपना उसैको पूरा हुन्छ जसले सपना देख्ने हिम्मत राख्छ । त्यस्तै, हिम्मत राखेर आफ्नो सपना साकार पार्नेमध्येका एक व्यक्ति हुन् माइकल जेफ्रे जर्डन ।

जर्डन नेसनल बास्केटबल एसोसिएसन (एनबीए) अन्तर्गतको टोली चार्लाेट हर्नेट्सका मालिकसमेत हुन् । बाल्यकालदेखि नै परिस्थितिअनुसार आफूलाई ढाल्नसक्ने खुबीका कारण उनले बास्केटबल खेलाडी हुँदै बास्केटबल टिमको मालिक बन्ने हैसियत बनाएका हुन् ।

खेलाडी करियरमा एनबीए च्याम्पियनसिपमा १६ सिजन बास्केटबल खेल्दा सिकागो बुल्सबाट उनले ६ पटक उपाधि जितेका थिए । फोब्र्सको धनाढ्य सूचीमा पनि धेरैपटक उत्कृष्ट १० भित्र अटाइसकेका उनको सन् २०२२ सम्मको कुल आम्दानी १.७ बिलियन अमेरिकी डलर रहेको तथ्यांकले देखाउँछ ।

उनको जीवनीमा आधारित केही लेखअनुसार बास्केटबल खेलका भगवान नै कहलिएका जर्डन एक गरीब परिवारमा जन्मिएका थिए । बास्केटबल त परको कुरा, उनलाई खानैका लागि समस्या थियो । तर, यो सबलाई पन्छयाउँदै आफ्नो लक्ष्यलाई पूरा गर्न जस्तोसुकै परीक्षामा पनि खरो उत्रने व्यक्तिको रूपमा परिचित बने माइकल जोर्डन ।

जब उनी १३ वर्षको थिए, उनका बुवाले एउटा कपडा देखाउँदै भने, बाबु यसको मूल्य कति पर्छ ? माइकलले सोच्दै भने, सायद एक डलर पनि पर्दैन होला । यो सुनेर उनको बुवाले भने, ‘आज यसलाई दुई डलरमा बेचेर ल्याउ, बुवाले यस्तो भनेपछि जर्डनले यो पुरानो कपडालाई दुई डलरमा कसरी बेच्न सकिन्छ होला भनेर सोचे । धेरै सोचेपछि उनले उपाय निकाले कि यसलाई सफा गरेर बेच्छु । उनले उक्त टिसर्टलाई सफा गरे अनि रेल स्टेसनमा पुगे । नभन्दै करिब आठ घन्टापछि उक्त टिस्र्टलाई दुई डलरमा बेच्न सफल पनि भए । त्यसपछि उनले लिएको त्यो दुई डलर बुवाको हातमा राखिदिए र त्यहाँबाट हिँडे ।


त्यसको केही दिनपछि माइकललाई बोलाएर बुवाले फेरि भने, ‘यो टिसर्टलाई कति पर्छ होला ? माइकलले जवाफ दिए सायद एक डलर, उनको जवाफ सुनेर बुवाले भने यो टिसर्ट लिएर जाउ अनि २० डलरमा बेच । त्यसपछि माइकल गहिरो सोचमा परे । सायद १ डलर पनि मुस्किल पर्ने टिसर्टलाई २० डलरमा कसरी बेच्न सकिन्छ भनेर जुक्ति लगाउन थाले । उनले दिमाग लगाए अनि बजार पुगे । उक्त टिसर्टमा मिक्की माउसको स्टिकर टाँसे । अनि स्कुलअगाडि बसेर बेच्न शुरू गरे । घन्टौँ कुरेपछि स्कुलको एकजना बच्चा टिसर्ट देखेर आकर्षित भयो । उक्त बच्चाले टिसर्ट किनिदिन उसको बुवालाई जिद्दी गरेपछि बच्चाको बुवाले टिसर्टलाई २५ डलरमा खरिद गरे । अर्कोतिर, २५ डलरमा टिसर्ट बेचेको माइकलले खुसी हुँदै बुवालाई २५ डलर हातमा थमाइदिए ।

त्यसको १५ दिनपछि उनका बुवाले फेरि बोलाए । फेरि १ डलरको टिसर्ट देखाउँदै भने, यो टिसर्ट २ सय डलरमा बेचेर ल्याउ । माइकलले बुवालाई नाइ भन्न सकेनन र टिसर्ट बेच्नका लागि हिँडे । माइकलले सोच्न थाले, १ डलरको टिसर्टलाई २ सय डलरमा कसरी बेच्न सकिन्छ । त्यसपछि उनी सहर पुगे । सहरमा एकजना चर्चित कलाकारको स्टेज कार्यक्रम चल्दै थियो । त्यो देखेर उनले सोचे कि उक्त कलाकारको अटोग्राफ लियो भने त जसले पनि महँगोमा टिसर्ट किन्छ होला । उनले धेरै मान्छेको भीडमा पनि उक्त कलाकारको नजिक गएर अटोग्राफ लिने हिम्मत गरे ।

त्यसपछि उक्त टिसर्ट बेच्नका लागि उनी अर्को सहर पुगे । जहाँ उक्त टिसर्ट किन्नलाई भीड नै जम्मा भयो । त्यति नै बेला एकजना धनी व्यापारी आएर टिसर्टको २ सय डलर तिर्न तयार भए । माइकलले पनि २ सय डलरमा उक्त टिसर्ट बेचे । माइकलले १ डलर पर्ने टिसर्टलाई २ सय डलरमा बेचेको उनका बुबालाई सुनाउँदै २ सय डलर बुवाको हातमा राखिदिए ।

त्यसपछि उनको बुवाले भने, छोरा तिमीले जिन्दगीमा जे पनि गर्न सक्छौ र जस्तोसुकै समस्याको पनि समाधान निकाल्न सक्छौ । हो, यसरी बास्केटबलमा आएका माइकल जोर्डनले बास्केटबलको क्षेत्रमा पनि कसैले पत्याउन नसक्ने छलाङ मार्न सफल भए । निजी जीवनमा जस्तै बास्केटबल कोर्टभित्र पनि बलसँगै उनको छलाङ मार्ने उत्कृष्ट खेल कौशलका कारण आज उनी बास्केटबलका भगवान मानिएका छन् ।

माइकल जर्डनका केही महत्वपूर्ण उपलब्धि:

माइकल सन् १९९१, १९९२, १९९३, र १९९६ मा गरी चारपटक नेसनल बास्केटबल एसोसिएसन (एनबीए) च्याम्पियन बन्न सफल भएका छन् ।

उनले सन् १९८८, १९९१, १९९२, १९९६, र १९९८ मा एनबीएको मोस्ट भ्यालुएबल प्लेयर (एमभीपी) को अवार्ड जितेका थिए ।

जर्डन सन् १९८७ देखि १९९३ सम्म सातपटक एनबीएको सर्वाधिक स्कोर गर्ने खेलाडी बनेका थिए ।

उनले एनबीए फाइनल्सको एमभीपी अवार्ड सन् १९९१, १९९२, १९९३, १९९६, १९९७ र १९९८ मा जितेका छन् ।

जर्डनले एनबीए अल–स्टार खेलमा १९८५ देखि १९९३ र १९९५ देखि १९९८ सम्म गरी १४ पटक सहभागिता जनाएका छन् ।

उनले सन् १९८८ देखि १९९३ र १९९६ देखि १९९८ सम्म एनबीए अल–डिफेन्सिभ टिममा स्थान प्राप्त गरेका थिए ।

माइकलले सन् १९८४ र १९९२ ओलम्पिक खेलमा अमेरिकाको प्रतिनिधित्व गर्दै गोल्ड मेडल जितेका छन् ।

सन् १९९६ मा एनबीएको ५० वर्षे एनिभर्सरीमा जर्डनलाई एनबीएको सबै सर्वकालीन महान् खेलाडीको अल–टिममा समावेश गरिएको थियो ।

जर्डनले बास्केटबलमा मात्र नभई, व्यापार र सांस्कृतिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान गरेका छन् ।