मोटरसाइकल चोरीमा संलग्न दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा 


काठमाडौँ । 

काठमाडौँको बालाजु बाइपास र लोलाङबाट मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई बुधवार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। 
प्युठानको गौमुखी गाउँपालिका ५ घर भई काठमाडौँको भत्केको पुल बस्ने २८ वर्षीय वसन्त हमाल र मकवानपुर घर भई लोलाङ बस्दै आएका ‍२८ वर्षीय रुपेन कुमार परियारलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

बालाजु बाइपासबाट हमालले चलाएको बा ९६ प ११ ६० नम्बरको पल्सर मोटरसाइकल ट्राफिक प्रहरीले शंका लागेर नियन्त्रणमा लिएको थियो । हमालले उक्त मोटरसाइकल परियारले दिएको भनी  बयान दिएकाले उनलाई पनि लोलाङबाट नियन्त्रणमा लिन प्रहरी सफल भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

वास्तविक नम्बर बा ९९ प ५९८७ रहेको उक्त मोटरसाइकल काभ्रेस्थलीबाट हराएको भनी काठमाडौँकै तार्केश्वर नगरपालिका २ बस्ने पुष्कर लामिछानेले खोजतलासको लागि निवेदन दिएका थिए । नियन्त्रणमा आएका दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको छ ।