विम्बलडनको रोचक कुरा

0
Shares

ग्रान्डस्लामलाई टेनिस खेलको ठूलो प्रतियोगिताको रूपमा मानिन्छ । हालसम्म प्रत्येक वर्ष चारवटा ग्रान्डस्लाम हुने गरेका छन् । अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन, विम्बलडन र यूएस ओपन एक वर्षमा हुने चारवटा ग्रान्डस्लाम हुन् ।

वर्षभरि हुने यी चारवटै ग्रान्डस्लामको इतिहास खोतल्ने हो भने सबैको इतिहास एक शताब्दीभन्दा बढी छ । तर, ती चारमध्ये पनि विम्बल्डन सबैभन्दा लामो इतिहास बोकेको ग्रान्डस्लाम हो । यो झन्डै डेढ सय वर्ष पुरानो प्रतियोगिता हो । दुइवटा विश्वयुद्ध र कोरोनाका कारण तीन पटकमात्र यो प्रतियोगिता रद्द गरिएको छ ।

सन् १९१५ देखि १९१८ सम्म पहिलो विश्वयुद्ध र १९४० देखि १९४५ सम्म दोस्रो विश्वयुद्ध र सन् २०२० मा कोरोना भाइरसका कारण तीन पटक रद्द गरिएका थिए । साधारणतया विम्बलडन भन्नासाथ हामीले टेनिसलाई सम्झिने गर्छौँ। तर, यो नाम दक्षिण पूर्वीलन्डनको एउटा जिल्ला हो । यही स्थानमा प्रतियोगिता हुने गरेकोले ठाउँको नामबाट नै यसको नामांकरण गरिएको छ ।

– विम्बल्डन सन् १८७७ मा अल इंग्ल्याण्ड लन टेनिस एन्ड क्रोक्वेट क्लबमा पहिलोपटक खेलिएको थियो । सन् १९८८ मा अस्ट्रेलियन ओपनले हार्ड कोर्ट रोजेपछि अहिले विम्बलडन घाँसे कोर्टमा खेलिने एक मात्र ग्रान्डस्लाम टेनिस प्रतियोगिता बनेको छ ।

-वार्षिक रूपमा जुनको अन्तिम साताबाट शुरू भएर जुलाईसम्म दुई साता चल्ने यस प्रतियोगितामा प्रतिस्पर्धीहरूले तोकिएको कपडामात्र लगाउनुपर्ने नियम छ ।

– टेलिभिजनमार्फत् प्रसारण हुने यो पहिलो ग्रान्डस्लाम प्रतियोगितासमेत हो । सन् १९३७ मा यो प्रतियोगितालाई पहिलोपटक बीबीसीले टेलिभिजनमार्फत् प्रसारण गरेको थियो ।

– प्रतियोगिता विजेताको कुरा गर्नुपर्दा पुरुष सिंगल्सतर्फ सर्वाधिक उपाधि जित्नेमा स्वीस खेलाडी रोजर फेडेरर अग्रपंक्तिमा छन् । उनले आठ पटक विम्बल्डन उपाधि जितेका छन् । त्यस्तै, ब्रिटिस खेलाडी विलियम रेनश र अमेरिकी खेलाडी पिट साम्प्रासले पनि समान सात–सात पटक विम्बल्डनको उपाधि उचालेका छन् ।

– महिला एकलतर्फ भने मार्टिना नभ्रातिलोभाले सर्वाधिक ९ पटक उपाधि उचालेर कीर्तिमान कायम गरेकी छन् । १२ पटक विम्बल्डनको फाइनल खेलेकी उनले नौ पटक उपाधि आफ्नो पोल्टामा पारेकी हुन् ।

– कुनै पनि खेलकुद गतिविधिका लागि प्रायोजकलाई मेरुदण्डको रूपमा लिइन्छ । तर, सुन्दा अचम्म लाग्न सक्छ, विम्बल्डन यस्तो प्रतियोगितामा हो जसमा प्रायोजक पूर्ण रूपमा निषेधित गरिँदै आएको छ ।

– बल ब्वाइज र गल्र्सका कारणले पनि यो प्रतियोगिताले चर्चा पाउने गरेको छ । खेलका क्रममा बल उपलब्ध गराउने बल ब्वाइज र गल्र्सहरू लन्डनको स्थानीय विद्यालयबाट ल्याउने गरिन्छ । जसका लागि विद्यार्थीले शारीरिक र लिखित परीक्षा दिनुपर्ने नियम छ । औसतमा १५ वर्षका विद्यार्थी बल ब्वाइज र गल्र्सका लागि छानिन्छ ।