विश्वकपका नायकबाट सफल प्रशिक्षक बनेका जिदान

0
Shares

सन् १९९८ विश्वकप फुटबलका आयोजक फ्रान्सलाई घरमै उपाधि दिलाउँदा नायक बनेका थिए जिनेदिन यजिद जिदान । उनी खेलाडीको भूमिकामा मात्रै होइन, स्पेनिस क्लब रियल मेड्रिडका सफल प्रशिक्षकका रूपमा समेत स्थापित बनिसकेका छन् ।

सन् १९९८ विश्वकप फाइनलमा ब्राजिलबिरुद्ध दुई गोल गरेका जिदानको खेल कौशल वास्तवमै उच्च श्रेणीको थियो । मैदानमा आक्रामक मिडफिल्डको भूमिकामा खेल्ने उनी स्ट्राइकरहरूलाई सहज स्थानमा बल उपलब्ध गराउन माहिर थिए । कलात्मक तरिकाले दुवै खुट्टाले बल छक्याउनसमेत उनी सिपालु थिए ।

सन् २००० को यूरोकपको उपाधि आफ्नो राष्ट्रलाई दिलाउँदासमेत उनले महत्वपूर्ण भूमिका निभाएका थिए । यति हुँदाहँुदै पनि सन् २००६ को जर्मनी विश्वकप उनका लागि बिर्सिनलायक बन्यो । इटालीविरुद्धको फाइनलमा इटालियन रक्षक मातेराजीलाई छातीमा टाउकाले हानेर उनी रातो कार्डका सिकार भएका थिए ।

उक्त खेलपछि आफ्नो गर्विलो करियरमा तीतो अनुभव संगाल्दै उनले सक्रिय खेल जीवनबाट सन्यास लिएका थिए । एउटै क्लबबाट खेलाडी र प्रशिक्षकका रूपमा रियल मेड्रिडबाट उपाधि जितेका उनले आफूलाई कुशल प्रशिक्षकको रूपमा समेत स्थापित गरेका छन् । पाँच वर्षकै उमेरमा फुटबल खेल्न शुरू गरेका जिदानले अन्तर्राष्ट्रिय र क्लबस्तरको प्रतियोगितामा गरी १५ वटा उपाधि जितेका छन् ।

मार्सेलेमा जन्मेका जिदानले कान्नेसबाट क्लबस्तरीय प्रतियोगितामा डेब्यू गरेका थिए । सन् १९८८ देखि १९९२ सम्म सोही क्लबमा बिताएका उनले त्यसपछि बौर्डीओक्समा (१९९२–९६), युभेन्टसमा (१९९६–०१), रियल मेड्रिडमा (२००१–०६) सम्म खेलेका थिए ।
उनले फ्रान्सको राष्ट्रिय टोलीबाट १ सय ८ खेलमा ३१ गोल गरेका छन । त्यस्तै १९९८, २००२ र २००६ को विश्वकप खेलेका उनले १२ खेलमा ५ गोल गरेका थिए ।

उनको प्रशिक्षणमा स्पेनिस क्लब रियल मेड्रिडले ११ वटा ट्रफी उचालेको छ । जसमध्ये सन् २०१६, २०१७ र २०१८ गरी लगालग तीन पटक यूइएफए च्याम्पियन्स लिगको उपाधिसमेत जितेको थियो । सन् २०१७ मा त उनको प्रशिक्षणमा रहेको रियलले एकै सिजन स्पेनिस ला लिगा, यूइएफए च्याम्पियन्स लिग, फिफा क्लब विश्वकप, यूइएफए सुपर कप र स्पेनिस सुपर कप गरी पाँचवटा उपाधि जितेको थियो ।