राष्ट्रिय परिचयपत्र पाउन १ करोड ५५ लाखले भरे विवरण


काठमाडौं ।

सरकारले राष्ट्रिय परिचयपत्रलाई देशव्यापी बनाउँदै परिचयपत्र प्रदान गर्ने उद्देश्यका साथ थालिएको अभियानका क्रममा हालसम्म १ करोड ५५ लाख १२ हजार २ सय ९५ जना नागरिकको विवरण संकलन गरिएको जनाएको छ।

विभागले परिचयपत्रका लागि विवरण संकलन गरिएकाहरूलाई क्रमशः सो परिचय पत्र प्रदान गर्दै जाने जनाएको छ। विभागका महानिर्देशक युवराज कट्टेलले आमनागरिकलाई दिइने सबै प्रकारका सेवालाई राष्ट्रिय परिचयपत्रमार्फत् एकीकरण गर्ने गरी थालिएको अभियान प्रभावकारी भइरहेको बताउनुभयो।

उहाँले हालसम्म ९ लाख ७५ हजार परिचयपत्र वितरण गरिसकिएको जानकारी दिनुभयो । विभागले हाल परिचयपत्र छपाइको कामलाई समेत धमाधम अगाडि बढाइरहेको छ। सरकारले नागरिकहरूलाई विभिन्न महत्वपूर्ण सेवा लिनुपूर्व राष्ट्रिय परिचयपत्र अनिवार्य लिनुपर्ने र परिचयपत्रमा नै सबै विवरण समाविष्ट गरिने हुँदा सबै सेवाहरू सहज हुने उद्देश्यले परिचय पत्रलाई देशव्यापी बनाउँदै लगेको छ।

हाल विभागले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय र ५४ वटा इलाका प्रशासन कार्यालयमार्फत् धमाधम विवरण संकलन कार्य जारी राख्दै आएको जनाएको छ। हरेक नागरिकले सक्कली नागरिकता लिएर देशका जुनसुकै प्रशासन कार्यालयमा गएर परिचयपत्रका लागि विवरण भर्न सकिने विभागले जनाएको छ।

विभागले परिचयपत्र वितरणका लागि देशरभका प्रशासन तथा इलाका कार्यालयमा ४१ लाख ९३ हजार ९ सय ४५ वटा कार्ड छपाइ गरेर पठाइसकेको छ। विभागले प्रतिदिन १८ हजार थान परिचय पत्र छापिइरहेको स्पष्ट पारेको छ।

हालसम्म विवरण संकलन : १,५५,१२,२९५
कार्ड वितरण : ९,७५,००७
दैनिक विवरण संकलन : १५,०००
कुल कार्ड छपाइ : ४६,९२,४०१
वितरणका लागि पठाइएका कार्ड : ४१,९३,९४५
प्रतिदिन कार्डको छपाइ : १८,०००