प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो


काठमाडौं ।

नेपालको दुईदिने भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिश्रीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गर्नुभएको छ।

भारतीय विदेश सचिव भएपछि पहिलोपल्ट नेपाल भ्रमणमा आउनुभएका मिश्रीले राष्ट्रपति पौडेलसँगको शिष्टाचार भेटमा द्विपक्षीय हित र विविध विषयमा कुराकानी भएको थियो। भेटका अवसरमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि नेपाल–भारत मिलेर काम गर्नुपर्ने बताउनुभयो।

‘हिमाल र पानीको सुरक्षामा नै मानवजातिको सुरक्षा निर्भर रहेको हुनाले जलवायु परिवर्तनको असर न्यूनीकरणमा दुवै देश मिलेर काम गर्न जरुरी छ’ –राष्ट्रपति पौडेलको भनाइ उद्धृृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो।

राष्ट्रपति पौडेलले नेपाल भारतबीच अनादिकालदेखि जनस्तरसम्मको सम्बन्ध रहेको र नेपालको विकासमा भारतको ठूलो सहयोग रहेको उल्लेख गर्दै सचिव मिश्रीको कार्यकालमा दुवै देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो।
सो अवसरमा भारतीय विदेश सचिव मिश्रीले जलवायु परिवर्तनको असर न्यूनीकरणको विषय दुवै देशका लागि चुनौती रहेकाले यसमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेपाल सरकारका कैयौं योजनामध्ये ऊर्जा, कृषि, पर्यटनजस्ता नेपालको प्राथमिकतामा भारत पनि काम गर्न इच्छुक रहेको बताउनुभयो। उहाँले काम अगाडि बढिरहेका आयोजना चाँडै सम्पन्न गरेर बाँकी नयाँ प्राथमिकतामा काम गर्न भारत इच्छुक रहेको पनि जानकारी दिनुभयो।

नेपाल भारबीचको सम्बन्ध जति सुमधुर हुन्छ त्यति नै दुवै देशका जनताको हित हुने उल्लेख गर्दै विदेश सचिव मिश्रीले भारतले स्थिर, शान्त र समृद्ध नेपाल हेर्न चाहेको पनि प्रस्ट पार्नुभएको प्रेस सल्लाहकार पोखरेलले बताउनुभयो।

त्यस्तै, प्रधानमन्त्री ओलीसँगको भेटमा सचिव मिश्रीले नेपाल र भारतबीचको सदियौंंदेखि रहँदै आएको सम्बन्धलाई अझै मजबुत बनाउन आफू लागिपर्ने बताउँदै प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तोसमेत दिनुभएको थियो।

भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपालको विकासमा भारतले पु¥याउँदै आएको सहयोगप्रति आभार प्रकट गर्नुभएको थियो। आइतबार बिहान काठमाडौं आइपुग्नुभएका उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकसँग छुट्टाछुट्टै भेट गर्नुभएको थियो। भारतीय विदेश सचिव मिश्रीको सम्मानमा परराष्ट्र सचिव सेवा लम्सालले आइतबार साँझ रात्रिभोजको आयोजना गर्नुभएको थियो।

विदेश सचिव मिश्रीले आज सोमबार परराष्ट्रमन्त्री डा. आरजु देउवासँग भेट गर्नुहुने भएको छ। त्यसपछि उहाँले परराष्ट्र सचिव लम्सालसँग द्विपक्षीय हितका विषयमा छलफल गर्नुहुने भएको छ।