स्पेनलाई पुरुष फुटबलको गोल्ड


एजेन्सी ।

स्पेनको युवा टिमले फ्रान्समा भएको ओलम्पिक पुरुष फुटबलको गोल्ड मेडल जितेको छ। शुक्रबार मध्यराति सम्पन्न फाइनल खेलमा स्पेनले आयोजक टोली फ्रान्सलाई ५–३ गोलअन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो।

रोमाञ्चक खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोली ३–३ को बराबरीमा रोकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो। जहाँ पाहुना टोली स्पेनले घरेलु टोलीविरुद्ध थप दुई गोल गर्दै ५–३ का गोलअन्तरले खेलको नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । दुवै तर्फबाट गरी ८ गोलको वर्षा भएको फाइनल खेल अन्तिमसम्म नै ज्यादै रोमाञ्चक बनेको थियो।


घरेलु टोली फ्रान्सले सुरुवाती गोल गरेर खेलमा अग्रता लिएपनि स्पेनले लगातार तीन गोल गरेपछि पहिलो हाफसम्म स्पेन ३–१ ले अघि रहेको थियो । तर, ९० मिनेट र थपिएको इन्जुरी समयसम्म फ्रान्सले थप दुई गोल गरेर खेललाई ३–३ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि खेल ३० मिनेटको थप समयमा पुग्यो । जहाँ स्पेनले दुई गोल थपेर खेल जित्यो । स्पेनको जितमा फर्मिन लोपेज र सब्सिच्यूट खेलाडी सर्जियो कामेल्लोले दुई–दुई गोल गरेर टिममा महत्वपूर्ण योगदान दिए । फ्रान्सका लागि पहिलो गोल ११औं मिनेटमा इन्जो मिलोटले गरेका थिए । त्यसपछि स्पेनले लगातार तीन गोल ग¥यो । खेलको १८औं मिनेटमा फर्मिन लोपेजले गोल गरेर खेललाई बराबरी ल्याएका थिए । त्यस्तै, लोपेजले २५औं मिनेटमा दोस्रो गोल गरेर टिमलाई अग्रता दिलाए ।

त्यसको तीन मिनेटमै एलेक्स बाइनाले फ्रिकिकमार्फत् सानदार गोल गरेर फ्रान्सलाई ३–१ ले पछि पारेका थिए । त्यसपछि फ्रान्सले दोस्रो गोल फर्काउन ७९औं मिनेटसम्म कुर्नु परेको थियो । फ्रान्सका लागि माघानेशले दोस्रो गोल गरेका थिए ।
दोस्रो गोल गरेपछि थप आक्रामक खेलेको फ्रान्सका लागि ९० मिनेटपछि थपिएको इन्ज्यूरी समयको दोस्रो मिनेटमा जिआन फिलिपे माटेटाले पेनाल्टीमार्फत् गोल गरेर खेल रोमाञ्चक तरिकाले ३–३ को बराबरी ल्याएका थिए।

३० मिनेटको थप समयमा स्पेनका लागि सब्सिच्यूट खेलाडी सर्जियो कामेल्लोले दुई गोल गरेर टिमको जित पक्का गरे । उनले १००औं मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाए भने १२०औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गरेपछि स्पेनले फ्रान्सलाई उनीहरूकै भूमिमा ५–३ ले स्तब्ध पार्दै गोल्ड मेडल चुम्यो।