घुस लिएको अभियोगमा विशेष अदालतमा पाँच मुद्दा दायर


काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समयमा सेवाग्राहीसँग घुस लिएको अभियोगमा पाँचवटा मुद्दा विशेष अदालतमा दायर गरेको छ। सानातिना काममा पनि कर्मचारीले घुस लिने गरेको सेवाग्राहीहरूले गुनासो पोख्ने गरेकोमा आयोगले सो मुद्दा दायर गरेको हो।

अघिल्लो आर्थिक वर्षमा घुस लिएको ४८ वटा मुद्दा दायर गरेको आयोगले नयाँ आर्थिक वर्ष शुरू भएको दुई साताभित्र घुस लिएको अभियोगमा अलगअलग चारवटा मुद्दा दायर गरेको थियो। एउटा मुद्दामा अनुसन्धान भइरहेको आयोगले जनाएको छ। यसले पनि सानातिना काममा सेवाग्राहीहरू कर्मचारीले रकम असुल्ने गरेको तथ्य उजागर गरेको छ।

आयोगले घुस लिएको पहिलो मुद्दा श्रावण ७ गते दायर गरेको थियो । पछिल्लो मुद्दा श्रावण १८ गते दायर गरेको छ । ती मुद्दाहरू विशेष अदालत काठमाडौंमा दायर गरेको हो । ती सबै मुद्दाहरू कर्मचारीले काम गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएको विषयमा केन्द्रित रहेको छ । ती सबै फरक फरक मुद्दामा घुस लिएको रकम न्युनतम ८० हजार र अधिकत्तम ६ लाख रुपियाँ रहेको छ।
ती अलगअलग मुद्दाहरूमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोदकुमारदत्त कर्ण, पूर्वाधार विकास कार्यालय चौतारा, सिन्धुपाल्चोकका सब–इन्जिनियर हीराबाबु थापा, सुपरभाइजर नहकुल शिवाकोटी र सुम्बा शेर्पालाई प्रतिवादी बनाइएको छ ।

त्यसै गरी ताप्लेजुङको फुङलिङ नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, ताप्लेजुङमा (अधिकृत स्तर छैटौं) इन्जिनियर पदमा कार्यरत मो.अख्तर हुसैन र बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा कार्यरत लेखा अधिकृत अमृता कोइरालालाई प्रतिवादी बनाई विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

कर्णले कारागार कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा नकबजनी चोरी मुद्दामा कैद भुक्तान गरिरहेका चौकीदारसँग निजलाई चौकीदारबाट हटाउने र अरू कुनै सुविधा नदिने तथा कैदकट्टा/माफी मिनाहाका लागि सिफारिस गर्दा असहयोग गर्नेलगायतको विषय देखाई दान, दातव्य, उपहारस्वरूप पाँच हजार मूल्य पर्ने जुत्ता र एक हजार २६ हजार ४ सय रुपियाँ पर्ने ‘एलईडी’ टेलिभिजन लिएको आयोगले जनाएको छ । कर्णले जम्मा १ लाख ३१ हजार ४ सय रुपियाँको सामान र १ लाख ५० हजार रुपियाँ घुस लिएको पुष्टि भएको भन्दै आयोगले जनाएको छ ।

त्यसै गरी दोलखाको विगु गाउँपालिका वडा नं. ३ स्थित लाकुरीडाँडा पिपलडाँडा ग्रामीण सडकको स्तरोन्नति गरिसकेपछि भुक्तानी लिने क्रममा सेवाग्राहीसँग सब–इन्जिनियर हिराबाबु थापासमेतले कमिसनबापत ८० हजार रुपियाँ मागेका थिए । सो रकम मागेर सुपरभाइजर नहकुल शिवाकोटी र सुम्बा शेर्पालाई लिन लगाइएको थियो ।

त्यस्तै अर्का इन्जिनियर मो.अख्तर हुसैनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीबाट १ लाख रुपियाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो । बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत लेखा अधिकृत अमृता कोइरालाले औषधि आपूर्तिको बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग १ लाख ५० हजार रुपियाँ र ४ लाख ५० हजार रुपियाँको चेकसहित घुस लिएको थियो।

यस विषयमा अनुसन्धान भइरहको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो। बाँकी मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५ को उपदफा (१) बमोजिमको कसुरमा घुस लिएको रकम बराबर बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद गरी बिगो जफत हुनसमेतको मागदाबी लिइएको छ ।