समातिँदै हाइकिङका लुटेराहरू


काठमाडौ ।

राजधानी उपत्यका वरपर रहेका पहाडहरूमा साइक्लिङ र हाइकिङ गर्न जानेहरूलाई छानी छानी लुटपाट मच्चाउने गिरोहका एक लुटेरा पक्राउ परेका छन्।

केही समययता राजधानीका शिवपुरी, दक्षिणकाली, कालुपाण्डेलगायतका क्षेत्रमा एउटै टेकनिक प्रयोग गरी साइक्लिङ र हाइकिङ जानेहरूलाई नियन्त्रणमा लिएर निर्मम यातना दिएर लुटपाट गर्दै आएकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

लुटेराको समूहले प्रहरी प्रशासनको पहुँचबाहिर पारेर घुम्न जाने युवा–युवती तथा पाका उमेरका व्यक्तिहरूलाई लुटपाट गर्नेमध्ये मकवानपुरको पदम पोखरी बस्ने ५६ वर्षका धनबहादुर स्याङतानलाई जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले स्युचाटारबाट पक्राउ गरेको छ।

नार्गाजुन नगरपालिका –७ बिन्दवासिनी मन्दिर नजिकैको जंगलमा सो समूहले शनिबार लुटपाट गरेपछि प्रहरीको टोलीले स्याङतानलाई हतियारसहित पक्राउ गरेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
दक्षिणकाली, शिवपुरी, विन्दवासिनी मन्दिरनजिकै रहेको जंगलमा एउटै टेक्निक लगाएर लुटपाट भएको र लुटेरामध्ये २ जना फरार रहेकाले सोही गिरोहले राजधानी वरपरको जंगलमा आतंक मच्चाएको दाबी प्रहरीले गरेको छ ।

शनिवार पनि लुटपाट भएको खबर पाएपछि खटिएको जिल्ला प्रहरी परिसरको टोलीले विभिन्न ठाउँमा चेकप्वाइन्ट नै राखेर खोजी गर्दा लुटेरा समूहका मुख्य व्यक्ति पक्राउ परेको एसपी अधिकारीले जानकारी दिनुभयो । सो समूहले सवारी साधन प्रयोग गर्ने व्यक्तिहरूलाई टार्गेट गर्ने र शुरूमा व्यक्तिलाई नियन्त्रणमा लिएपछि कुटपिट गर्ने र सवारीसाधनको साँचो नियन्त्रणमा लिएर बस्ने आफु अनुकुलको वातावरण नभए लुटेर नियन्त्रणमा लिएको सवारी लिएर भाग्ने गरेको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले यसरी लुटपाटमा संलग्न रहेका समूहलाई नियन्त्रण गर्ने प्रयास गरेको भए पनि असफल हुँदै आएको थियो। शनिबार पनि फरक ठाउँमा लुटपाट गर्ने गिरोहले एउटै टेक्निक प्रयोग गरेर लुटपाट गरेको भन्ने खबर आएपछि उनीहरू भाग्न सक्ने सम्भावित ठाउँलाई पहिचान गरेर हामीले सो क्षेत्रमा प्रहरीलाई छुट्टा–छुट्टै समूह बनाएर परिचालन गरेको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो ।

पक्राउ परेका स्याङतान नै लुटपाटको प्रमुख योजनाकार भएको देखिएको छ। अब हामी उसका सहयोगीको खोजीमा छौं। पक्राउ परेका लुटेराले अहिले खासै मुख खोलेको छैन हामीले अनुसन्धानालाई अघि बढाएका छौं एसएसपी रजौरेले भन्नुभयो।