काठमाडौं महानगरले कानुनी राज्यको उपहास गरेको छ : सडक डिभिजन



काठमाडौं ।

सडक डिभिजन कार्यालय, काठमाडौंले आफ्नो प्रवेशद्वारमा महानगरपालिकाले फोहोर फालिदिएको घटनालाई लिएर आपत्ति प्रकट गरेको छ। महानगरले कानुनी राज्यको उपहास गरेको सडक डिभिजनको ठहर छ।

कार्यालय परिसर छिर्न समेत अवरोध हुने गरी फोहोर फालिएको भन्दै कार्यालयले विज्ञप्ति निकालेर स्थानीय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याइँ तथा अराजक शैलीबाट काम भएको बताएको हो।

‘काठमाडौं जिल्ला भित्रका सडक निर्माण तथा मर्मत सम्भारको महत्त्वपूर्ण जिम्मेवारी पाएको यस सडक डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याइँ तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विषय छर्लङ्ग छ ।’ विज्ञप्तिमा भनिएको छ।

सडक काटेर साघुरो बनाउन नहुने भनी सडक डिभिजनबाट सो कार्यमा रोक लगाइएको विषयलाई विषयलाई विषयान्तर गरिएको डिभिजन कार्यलयले बताएको छ।

‘सडक डिभिजनको कार्य क्षेत्रभित्र भएका त्रुटि औँल्याइ आवश्यक सुझाव दिए डिभिजन सकारात्मक सुझाव सम्झेर कार्यान्वयन गर्ने तर डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाई भएका यस किसिमका अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने र सोको प्रतिकार गर्नसमेत बाध्य हुने ब्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ,’ विज्ञप्तिमा लेखिएको छ।

शनिबार काठमाडौं महानगरपालिकाले सडक डिभिजन कार्यालयको गेटमा एक ट्रक धुलो खन्याइदिएको थियो। उक्त दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गरी महानगर प्रमुख बालेन्द्र शाहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कलङ्कीदेखि महाराजगन्जसम्मको चक्रपथ विस्तारका काम अघि नबढाएको आरोप लगाउँदै आक्रोश व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्