वनमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ



काभ्रे ।

जङ्गलमा आगो लगाएको अभियोगमा काभ्रेपलाञ्चोकका पाँच जना पक्राउ परेका छन्। उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए।

काभ्रेको पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जङ्गलमा आगो झोसेको अभियोगमा मण्डनदेउपुर नगरपालिका–११ का ३१ वर्षीय मैते तामाङ, २५ वर्षीय विकास भुजेल र सविन सुनार पक्राउ परेका छन्।

त्यस्तै नमोबुद्ध नगरपालिका–१ को कासकोट सामुदायिक जङ्गलमा आगो लगाएको अभियोगमा ८० वर्षीया आइतीमाया तामाङ र चौँरीदेउराली गाउँपालिका–६ को आरुबोट सामुदायिक जङ्गलमा आगो लगाएको आशङ्कामा सोही वडाका ४९ वर्षीय लालकुमार सेन ठकुरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका पाँच जनामध्ये नमोबुद्ध–१ का तामाङलाई हिरासतमुक्त गरिएको र अन्यलाई मुद्दा चलाइएको नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए।

डढेलो मानव बस्तीमा पस्दा रोशी, महाभारत र खानीखोला गाउँपालिकाका विभिन्न ठाउँमा धनमालको क्षति भएको छ । रोशी गाउँपालिका–४ सानोपोटा गाउँका १५ घर नष्ट हुँदा २ करोड २६ लाख ३० हजार बराबरको क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्