रुसी सेनामा मृत्यु भएकाको पहिचान यकिन गर्न ‘डीएनए’ संकलन



काठमाडौं ।

रुसी सेनामा भर्ती भएर मारिएका थप नेपालीको शव पहिचानका लागि उनीहरूका निकटस्थ पारिवारिक सदस्यको ‘डीएनए’ नमुना परीक्षण गरिएको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा परिवारका सदस्यको डीएनए परीक्षणका लागि नमुना संकलन गरिएको हो। रुस सरकारको आग्रहमा नेपालबाट सम्पर्कमा आएका व्यक्तिको ‘जेनेटिक टेस्ट’ गर्न स्याम्पल पठाउन नमुना संकलन गर्न शुरू गरिएको हो ।

परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुरलर सेवा विभागले खोमबहादुर भुजेल, बिमलकुमार गजमेर, प्रेमप्रकाश न्यौपाने, भीमबहादुर विक, क्षितिज बस्नेत, सोमेश सुनुवार, विजयबहादुर थोकर र जितेन्द्रबहादुर घिसिङका आफन्तको डीएनए परीक्षणका लागि संकलन गरेको हो ।

रुसी सेनामा भर्ना भएका नेपालीमध्ये पछिल्लो समय थप १५ जनाको मृत्यु भएको आशंका गरिएको छ। मृत्यु भएकामध्ये नेपालीको शव पहिचान र जेनेटिक टेस्टका लागि उनीहरूका निकटस्थ पारिवारिक सदस्यको डीएनए नमूना पठाइन दिन रुस सरकारले मस्कोस्थित नेपाली राजदूतवासमार्फत् आग्रह गरेको थियो ।

विभागमा हालसम्म रुसी सेनामा भर्ना भएकामध्ये २ सय ७१ नेपाली नागरिकका आफन्तले उद्धार तथा खोज यकिन गरिपाऊँ भनेर आवेदन दिएका छन्। परराष्ट्र मन्त्रालयले यसअघि पटकपटक गरी रुसी सेनामा भर्ना भएकामध्ये १९ नेपाली नागरिकको मृत्यु भएको पुष्टि गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्