सरकारको प्रमुख कार्यभार



काठमाडौं ।

नेपाल र नेपालीले ६ दशकभन्दा बढी समय विभिन्न आन्दोलन गरी राजनीतिक परिवर्तनका निम्ति संघर्ष गर्दै आएको छ। त्यही संघर्षको उपलब्धिस्वरुप नेपालले संघीय, लोकतान्त्रिक, गणतन्त्रको राजनीतिक प्रणाली, समाजवाद उन्मुख समावेशी लोकतन्त्रको सारतत्वसहितको सामाजिक प्रणालीको स्थापना भएको थियो।

संविधानसभाबाट बनेको संविधानले त्यसलाई संस्थागत गर्दै अहिले कार्यान्वयनको प्रक्रियामा रहेको छ। नेपाल र नेपालीले ठूलै राजनीतिक उपलब्धि प्राप्त गरेको राजनीतिक दलका नेताले चर्काचर्की भाषण गरे पनि सर्वसाधारण जनताले त्यसलाई आफ्नो जीवनमै अनुभूत गर्न सकेका छैनन्।

आमजनताको शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्न, आवास, बाटाघाटा, सिंचाइ, बिजुली, खानेपानीजस्ता आवश्यकता पूरा गर्ने क्रममा राजनीतिक परिवर्तन व्यावहारिक रुपले अनुभूत गर्न पाएको छैन ।

यसले गर्दा आमनेपाली जनताले व्यवस्था फेरर मात्र पुग्दैन, अवस्था फेर्नुपर्ने मान्यता सहर्ष स्वीकार गरिरहेका छन् । राजनीतिक व्यवस्था फेरेर पनि नेपाल र नेपालीको अवस्था फेर्न सकेको छैन । यसलाई निहुँ बनाएर राजनीतिक व्यवस्थामाथि आक्रमण गर्ने जमात रहे पनि व्यवस्थाका पक्षधरहरुले अवस्था फेर्न प्रतिबद्ध नहुनु सबैभन्दा दुःखद कुरो हो ।

नेपाल र नेपालीले राजनीतिक उपलब्धि हासिल गर्‍यौं । राजनीतिक अधिकार प्राप्त गर्‍यौं । नेपाल र नेपालीले राजनीतिक परिवर्तनलाई माध्यम र साधन बनाएर सामाजिक, आर्थिक रुपान्तरण गर्न सकेको छैन । विकास र समृद्धिलाई तीव्रता दिन सकेको छैन।

यसले गर्दा राजनीतिक परिवर्तनको औचित्य व्यवहारतः पुष्टि गर्न सकेको छैन भन्दा अत्युक्ति नहोला । यसको मुख्य कारण शासन–प्रशासन चलाउने राजनीतिक दलका नेता र कार्यकर्ता, कर्मचारीतन्त्र देश र जनताप्रति जिम्मेवार एवं संवेदनशील नहुनु हो। कमिसन, भ्रष्टाचार र ठगी गरेर राज्यको स्रोतको दोहन गर्ने प्रवृत्ति सहजै मौलाउँदै गएको छ।

सर्वसाधारण जनता राम्रो भविष्यको खोजीमा विदेश जाने क्रम दिनहुँको बढेको बढ्यै छ। सुशासनको अवस्था कमजोर रहेको छ। राज्यले रेमिट्यान्स, भन्सार राजस्व र वैदेशिक सहायतालाई मुख्य स्रोतका रुपमा लिइरहेको छ।

यसले गर्दा उत्पादनमुखी, रोजगारमूलक पुँजी निर्माणमा मुलुकलाई डोर्‍याउन सकेको छैन। यो नेपाली राजनीतिको यथार्थता हो। यसलाई बदल्नुपर्ने दायित्व पूरा गर्नबाट राज्यसञ्चालक पटक–पटक चुकिरहेका छन्। राज्यसत्तामा जानु भनेको आफू र आफन्तका लागि हो भन्ने मान्यता बलियो गरी स्थापित भएको छ।

राजनीतिक परिवर्तनको रक्षा र सुदृढीकरण गर्दै त्यसको प्रभावकारी कार्यान्वयन प्रक्रियामा अघि बढ्ने कुरामा एकजुट भएर लाग्नुपर्ने आवश्यकता रहेको छ । तर मुख्य कुरो भनेको यो राजनीतिक परिवर्तन र उपलब्धिबाट देशका आमजनताले आफ्नो जीवनमै परिवर्तनको अनुभूत गर्न सक्ने गरी आर्थिक क्षेत्रमा प्रगतिलाई फड्को विन्दुमा पुर्‍याउन सक्नुपर्दछ ।

त्यसो भयो भने मात्रै साँच्चीकै यो राजनीतिक परिवर्तन सर्वसाधारण नेपालीका लागि रहेछ भनेर पुष्टि हुन्छ। त्यसैले आर्थिक समृद्धिको दिशातर्फ अघि बढ्न व्यापार घाटा कसरी कम गर्ने र पुँजी निर्माण कसरी बढाउने भन्ने कुरामा ध्यान दिनुपर्छ।

पुँजीगत खर्च कार्यान्वयनमा सफलता प्राप्त गर्‍यो भने अनि आर्थिक समृृद्धि र आमजनतालाई सेवाप्रवाह गर्न सक्यो भने मात्र राजनीतिक परिवर्तनको औचित्य पूरा हुनेछ।

यसको निम्ति राज्य, सरकार, निजी क्षेत्र र समाजका सबै पक्ष मिलेर सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकता छ। स्वाभाविकरुपमा यसको नेतृत्व सरकारले गर्नुपर्ने हुन्छ।

संविधानको मार्गनिर्देशन अनुरुप आज देशको आवश्यकतालाई ध्यान दिँदै सबै एकताबद्ध भएर नेपाली समाजको आर्थिक समृद्धिको अभिभारा पूरा गर्न अघि बढ्नुपर्ने आवश्यकता छ।

प्रतिक्रिया दिनुहोस्