‘समुदायमा कांग्रेस’ अभियान १३ गतेबाट



काठमाडौं ।

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले घोषणा गरेको ‘समुदायमा कांग्रेस’ अभियान माघ १३ बाट शुरू गर्ने भएको छ।

कांग्रेसले ६ हजार ७ सय ४३ वटै वडासम्म पुगेर जनताका कुरा सुन्ने ‘समुदायमा कांग्रेस’ अभियान केन्द्रीय कार्यालयले पहिलो चरणमा माघ १३ देखि २६ गतेसम्म सञ्चालन गर्न लागेको हो।

केन्द्रीय कार्यसमितिले सञ्चालन गर्न लागेको अभियानअन्तर्गत ७ प्रदेश, ७७ वटै जिल्ला, ७ सय ५३ वटै स्थानीय तह र ६ हजार ७ सय ४३ वटै वडामा प्रतिनिधि खटिँदै छन्।

पार्टीका केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरू समेत गाउँगाउँ पुग्ने र जनताका समस्या, गुनासा र सुझाव सुन्ने कार्यक्रम तय गरिएको नेपाली कांग्रेसका सूचना तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताउनुभयो।

अभियानका क्रममा कांग्रेसले तीनै तहका सरकारसँगका जनताका अपेक्षा, सुझाव र गुनासो सुन्ने उहाँको भनाइ छ।

उहाँले भन्नुभयो– ‘अभियानका क्रममा कांग्रेसले जनताबाट प्राप्त सुझावलाई सम्बन्धित सरकारसँग लैजाने, पार्टी सरकारमा रहेका ठाउँमा सरकारको नीति कार्यक्रममा समावेश गरी कार्यान्वयनतर्फ लैजाने र प्रतिपक्षमा रहेका ठाउँमा समाधानका उपायहरू खोज्नेछ।’

अभियानका लागि प्रत्येक प्रदेशमा केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी वा पार्टीका नेताले अभियानको प्रादेशिक समन्वय गर्ने र संयोजन गर्नेछन् भने जिल्लाका लागि केन्द्रीय सदस्यहरूलाई परिचालन गर्ने तयारी छ।

अभियानका क्रममा नेताहरूले वडाको पायक पर्ने ठाउँमा कम्तीमा एकपटक वडावासीसँग सार्वजनिक छलफल गर्ने र त्यसमार्फत् जनताका अपेक्षा, गुनासा र सुझाव सुन्ने कार्यक्रम गर्नुपर्ने केन्द्रीय कार्यालयले परिपत्र गरेको छ।

त्यस्तै, नागरिक समाज, शिक्षक, प्राध्यापक, आमा समूह, युवा क्लब, कृषक समूहदेखि समाजका सबै समूहसँगसमेत छलफल गर्न र उनीहरूका कुरा सुन्नसमेत परिपत्र गरिएको नेपाली कांग्रेसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्