सत्ता गठबन्धनको बैठक आज बस्दै



काठमाडौं ।

सत्ता गठबन्धनको बैठक आज बस्दै छ। आसन्न राष्ट्रिय सभा निर्वाचन र संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक लगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको हो। बैठकमा सहभागी हुन नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुग्ने क्रम जारी छ।

प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बैठकमा राष्ट्रिय सभा निर्वाचनको तयारी र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा छलफल हुने जानकारी दिए।

सरकारले आगामी संसद अधिवेशनबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पास गर्ने तयारी गरिरहेको छ। गत वर्ष नै सरकारले संसद्मा दर्ता गराएको विधेयक पास गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब छ।

एमालेलाई समेत मनाएर सर्व सहमतिमा विधेयक पास गर्ने दाहालको चाहना असफल जस्तै बनिसकेको छ भने अब सत्ता गठबन्धनले बहुमतबाट विधेयक पास गरेर अघि बढ्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्