प्रकाशकीय: निरन्तर खबरदारी गरिरहने छौं



काठमाडौं ।

श्रद्धेय पाठक वर्ग, यहाँहरूको माया, सहयोग र साथका कारण नेपाल समाचारपत्र विगत २८ वर्षदेखि सफलतापूर्वक प्रकाशन हुँदै आइरहेको छ। यो अवसर पाउँदा हामीले गौरवको अनुभूति गरेका छौं।

नेपालको छापा पत्रकारितामा आफ्नो पृथक् पहिचान बनाउन सफल हुँदै आइरहेको यो पत्रिका सदासदा यहाँहरूकै सेवामा समर्पित छ। २०५२ साल पुस २७ गते आजैका दिनबाट प्रकाशन शुरू भएको यस पत्रिका विभिन्न आरोह अवरोहलाई छिचोल्दै २९औं वर्षमा प्रवेश गर्न सफल भएको छ।

२९औं वर्ष प्रवेशको यस पुनीत अवसरमा हामी प्रेसको वास्तविक मर्म र धर्मअनुसार जनसेवामा आधारित रहेर पत्रकारितालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछौं । हामी राष्ट्र र राष्ट्रियताको जगेर्ना गर्दै मानवअधिकारको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रका मूल्यमान्यताप्रति प्रतिबद्ध छौं।

साथै वर्तमान शासकीय व्यवस्थाको संस्थागत विकासलाई उच्च प्राथमिकतामा राख्दै हामी शासकहरूलाई मुलुकमा विधिको शासन र सुशासन कायम गर्दै विकासका कार्यक्रमहरू सञ्चालन गर्न र समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई व्यावहारिक रूप दिलाउन निरन्तर खबरदारी गरिनै रहने छौं। हामी प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धनका लागि शासकहरूलाई सधै झकझकाइरहने छौं।

मुलुकमा विभिन्न बहानामा बढ्दै गइरहेको भ्रष्टाचार र कुशासनले आम नागरिकमा निराशा र आक्रोश पैदा हुन पुगेको छ, विकासका कार्यहरू अवरुद्ध भइरहेका छन्। अतः त्यस्ता भ्रष्टाचार र विकृतिहरूको खोजतलास गरी पर्दाफास गर्नुपर्ने दायित्व मिडिया क्षेत्रको काँधमा आइपरेको छ।

हामी यस प्रकारको जिम्मेवारीलाई सहर्ष स्वीकार्दै उत्साहका साथ अघि बढ्न तयार छौं । त्यसैले हामी त्यस्ता विकृतिहरूको खोजतलास र भण्डाफोर गर्दै दोषीलाई कानुनी कठरामा उभ्याउनुपर्छ भन्ने मान्यताअनुसार अघि बढिरहेका छौं ।

हामीले पछिल्ला दिनमा सुनकाण्ड छानबिनका नाममा भएका बेथिति, स्मार्ट टेलिकममा व्याप्त विकृति र सेटिङ, एनसेल अनियमितता प्रकरण र अहिले आएर विद्युत् महसुल उठाउने बहानामा सरकारबाटै व्यापारिक क्षेत्रसँग साँँठगाँठ गरी हुन लागेको संस्थागत भ्रष्टाचारलाई पनि निरन्तर खोजतलास गरी भण्डाफोर गर्न सफल भइरहेका छौं । हाम्रो यो अभियान निरन्तर जारी रहनेछ ।यसका लागि आमपाठक वर्गको उत्प्रेरणा आवश्यक छ ।

प्रिय पाठकवर्ग, हाम्रो मुख्य प्रकाशनका रूपमा रहेको कामना न्युज पब्लिकेसन्स् प्रालिको ४०औं वार्षिकोत्सवको अवसरमा नेपाल समाचारपत्रले मिडिया क्षेत्रसँगै सम्बन्धित विभिन्न पक्षलाई समेटेर १३२ पृष्ठको विशेषांक निकाल्न सफल भएको थियो।

जुन नेपालको छापा माध्यमको इतिहासमा नै नयाँ रेकर्ड थियो । त्यसले हामीलाई अगाडि बढ्न झनै उत्साहित पारेको छ भने थप प्रेरणा दिएको छ।

आगामी दिनमा समाचार सामग्रीहरूमा विचारलाई भन्दा तथ्य र तथ्यांकहरूलाई बढी प्राथमिकता दिएर अझ सशक्त तरिकाले प्रस्तुति गर्ने थप प्रतिबद्धता व्यक्त गर्दछौं । नेपाल समाचारपत्रलाई यहाँहरूको प्रिय र भरपर्दो पत्रिकाका रूपमा स्थापित गराउन सधैं प्रतिबद्ध रहने छौं ।

आजको यस महत्वपूर्ण दिनमा सम्पूर्ण पाठक, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक, लेखकका साथै हाम्रो प्रकाशनका विभिन्न विभाग र जिम्मेवारीमा रहेर काम गरिहनुभएका सहकर्मीलगायत सबैप्रति हार्दिक आभार प्रकट गर्दछु।

 

                                                                                                                                                                 दिरेकलालश्रेष्ठ
                                                                                                                                                    प्रमुख कार्यकारी अधिकृत (सीईओ)

प्रतिक्रिया दिनुहोस्