कट्टेल नेतृत्वको नेकपाले गर्‍यो भारतीय दूतावासलाई २० करोड खर्च गर्न दिने सम्झौताको विरोध



काठमाडौं ।

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेपालका विकास योजनामा सिधै भारतीय दूतावासले २० करोड रुपैयाँसम्म बजेट दिन पाउने गरी भएको सम्झौताको विरोध गरेको छ।

शक्रबार एक विज्ञप्ति जारी गर्दै कट्टेल नेतृत्वको नेकपाले सम्झौताले नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामा गम्भीर आँच आउने भन्दै विरोध गरेको हो। यस्ता राष्ट्रघाती सहमति सम्झौताहरू अविलम्ब खारेज गर्न पनि नेकपाले माग गरेको छ।

‘यो सम्झौताले नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता जस्ता विषयमा गम्भीर प्रकृतिको आँच आउने काम गरेर द्वैध सत्ताको स्थिति बनाएको छ। यस्तो राष्ट्रघाती कार्यको नेपाल कम्युनिस्ट पार्टी घोर विरोध गर्दछ। जसरी नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्न भारतीयहरूको अधिकार छैन त्यसै गरी नेपाली स्वतन्त्रता, स्वाधीनता र सार्वभौमिकता माथि प्रहार हुने, आँच आउने कुनै पनि किसिमका हरकत गर्न यो सत्तालाई अधिकार नभएकाले यस्ता खालका कार्य तुरुन्त रोक्न, भएका राष्ट्रघाती सहमति, समझदारी, सम्झौताहरूको अविलम्ब खारेजी गर्न माग जोडदार गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ।

राष्ट्रिय स्वाधीनता र मुक्तिका पक्षधर शक्तिहरूलाई श्रृखलावद्ध जनघाति हर्कतका विरुद्ध एकताबद्ध भई अघि बढ्न नेकपाले आह्वान समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्