चितवनमा चरा गणना सुरु



चितवन ।

चितवनमा चरा गणना सुरु भएको छ। वर्ड एजुकेसन सोसाइटी चितवनले पूर्वी चितवनको राप्ती नदी, बूढीराप्ती, ढुम्रे, कसरालगायतका क्षेत्रबाट चरा गणना सुरु गरेको हो।

सोसाइटीका जिल्ला अध्यक्ष टीकाराम गिरीका अनुसार चरा गणना देशभर शनिबारबाट सुरु भएको भए पनि यहाँ आजबाट सुरु गरिएको हो।चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रलगायत ठाउँमा चरा गणना गरिनेछ।

पूर्वी चितवनमा नौ स्थानमा चरा गणना गरिने छ। यसपछि पश्चिम चितवनमा सुरु गरिने उनले जानकारी दिए। उनले भने, “आजदेखि आगामी माघ ७ गतेभित्र चरा गणना गरिसकिनेछ।”

गणनाका लागि विभिन्न समूह निर्माण गरी कामलाई अघि बढाइएको उनले बताए । पश्चिम चितवनको दिव्यनगर, कसरा पुलबाट पश्चिम र रिउखोलामा पूर्वी चितवनको गणना सकिएलगत्तै गरिने छ।

बाइनाकुलार क्यामेरा, जिपिएस, साउण्ड रेकर्डरलगायतको प्रयोग गरी चरा गणना गरिने उनले बताए । जिल्लामा छ सय ५० भन्दा बढी प्रजातिका चरा पाइन्छ। नेपालमा सन् १९८७ बाट चरा गणना थालिएको हो।

प्रतिक्रिया दिनुहोस्