क्यान्सर पहिचानमा सक्रियता



काठमाडौं ।

नेपालमा स्तन क्यान्सर बढिरहेको सन्दर्भमा वीर अस्पतालले म्यामोग्राफी सेवा सञ्चालनमा ल्याउनु सुखद कुरा हो। वीर अस्पतालले स्तन क्यान्सर स्क्रिनिङका लागि अत्याधुनिक मेसिन डिजिटल ब्रेस्ट टोमोसेन्थेसिस (डीबीटी) सञ्चालनमा ल्याएको छ।

नेपालीका लागि अत्यन्तै खुशी र स्वागतयोग्य कामका लागि वीर अस्पतालको प्रशंसा गर्नै पर्छ। म्यामोग्राफी गर्नका लागि ल्याइएको थ्रिडी मेसिनले ४० वर्षमाथिका महिलाहरुको स्तन जाँच गर्नेछ । मानिसमा धेरै प्रकारका क्यान्सर हुन्छन्।

त्यसको पहिचान ‘विशेषज्ञ चिकित्सकहरुले जाँच गर्दा देखिने लक्षणका आधारमा म्यामोग्राफी गर्ने हो। हरेक व्यक्तिले आफैँ लक्षण पहिचान गरेर वा पहिचान नै नभए पनि ४० वर्षको उमेर कटेपछि वर्षमा एकपटक परीक्षण गरे समयमै रोगको पहिचान हुन्छ।

यसका लागि वीर अस्पतालले डीबीटी सञ्चालनमा ल्याएको हो। यसले स्तनको अवस्था थाहा दिन्छ र लक्षण भएकाहरुको बायोप्सीसमेत गर्न मिल्छ।

वीरमा भित्रिएको यो अत्याधुनिक र नवीनतम मेसिनको सही सदुपयोग गरी आम सर्वसाधारण महिलाहरुको स्तन क्यान्सर पहिचान र उपचारका लागि परीक्षण गर्न यो सेतु साबित होस्।

वीर अस्पताल आम नागरिकको पहुँचयोग्य स्तन क्यान्सर परीक्षण गर्ने नमुना थलो बन्न सकोस्। आर्थिक अभावका कारण कुनै पनि नागरिकले क्यान्सर रोगबाट मृत्युवरण गर्नु नपरोस्।

रोग नै लाग्न नदिन अर्थात् रोग लागेको शुरुवाती अवस्थामै पहिचान गरी छिटो उपचारको पहुँचमा पुग्न सकियोस् भन्ने उद्देश्यले भित्र्याएको यो मेसिन सही ढंगले सञ्चालन गरियोस् । काम गर्ने व्यक्ति दबाब र प्रभावमा परी विचलित हुने अवस्था सृजना नहोस्।

नेपालमा महिलाहरुमा देखिने क्यान्सरहरुमा पहिलो पाठेघरको मुखको क्यान्सर र दोस्रो स्तन क्यान्सर थियो तर अहिले स्तन क्यान्सर पाठेघरको मुखको क्यान्सरसँगै बराबरको अवस्थामा पुगेको देखिन्छ। क्यान्सर शुरुवाती अवस्थामा पत्ता लागेमा पूर्ण निको हुनसक्छ।

यसैले उमेर बढ्दै जाँदा ब्रेस्ट स्क्रिनिङ गर्नु महत्वपूर्ण हुन्छ। तर कति वर्षपछि स्क्रिनिङ गर्ने भन्ने विषयमा नेपालले मापदण्ड बनाएको छैन। वीर अस्पतालका विशेषज्ञ चिकित्सकहरुले विदेशी मापदण्डलाई टेकेर ४० वर्षपछि म्यामोग्राफी गर्न सुझाव दिएका छन्।

यसको संरक्षण र संवद्र्धनका लागि सामूहिक सेवाको भावना जरुरी छ। मेसिन भित्रिएको केही समय नबित्दै प्रयोगकर्ताको अनुकूलतामा मेसिन चल्ने र बिग्रने अवस्था आउन नदिन व्यवस्थापन पक्ष शुरुदेखि नै चनाखो होस्। आवश्यकता अनुसार मेसिनको मर्मत, सम्भार गरी यसको रक्षार्थ जुट्ने वातावरण बनाइयोस्।

वीर अस्पतालले भित्र्याएको यस मेसिनबाट म्यामोग्राफी गर्नका लागि दुई हजार रुपियाँ शुल्क तोकिएको छ। बायोप्सी गर्नुपरेमा थप शुल्क लाग्ने स्पष्ट पारिएको छ । तर आर्थिक अवस्था कमजोर भएकाको विषयमा कुन निकायले पहिचान गर्ने र उपचारको पहुँचमा पु¥याउने भन्ने पनि समयमै स्पष्ट पारियोस् । क्यान्सर रोग धनी, गरिब, साना, ठूला जो–कोहीलाई लाग्न सक्छ।

४० वर्षमाथिका महिलाहरुले कम्तीमा वर्षको एकपटक ब्रेस्ट्र स्क्रिनिङ गर्न सक्ने वातावरण र क्षमताको विकास होस्। यो सेवा दीर्घकालसम्म चल्न सके आम नागरिकले पनि दीर्घकालसम्म क्यान्सरको पूर्वपहिचान गर्न सक्ने थिए।

यो सेवा पहुँच भएका व्यक्तिको मात्र पेवा नबनोस् र उपचारमा विभेद नगरियोस्। धनी, पहुँचयोग्य व्यक्ति र गरिब व्यक्तिलाई लाग्ने रोगको जटिलता, मर्म एउटै हो । त्यसैले उपचार पनि समानरुपमा गरियोस्।

प्रतिक्रिया दिनुहोस्