वन मन्त्रालयमा तनाव : मन्त्री र सांसद खनिए सचिव र कर्मचारी माथि



काठमाडौं ।

वन तथा वातावरण मन्त्रालयमा तनाव भएको छ। मंगलबार दिउँसो नेपाली कांगे्रसका सांसद दीपक खड्का वनमन्त्री डा. वीरेन्द्रप्रसाद महतो तथा सचिव डा. दीपककुमार खरालबीच तनाव उत्पन्न भएपछि प्रहरीले सुरक्षा दिनुपरेको हो।

सांसद खड्काको बूढानीलकण्ठमा निर्माण गरिएको ‘होटल फरेस्ट इन’ सम्बन्धी फाइल अगाडि नबढेपछि आक्रोशित बन्दै मन्त्रालय पुगेका उनी र कर्मचारीबीच केही विवाद भएपछि तनाव उत्पन्न भएको थियो।

वन मन्त्री महतो र सांसद खड्काले मन्त्रालयका कर्मचारीको असहयोगले मन्त्रालयको काम प्रभावकारी हुन नसकेको भन्दै सचिव र अन्य कर्मचारीलाई थर्काएपछि विवाद भएको थियो।

सांसद खड्का र मन्त्री महतोले कर्मचारीमाथि दोषारोपण गरेका थिए। सांसद खड्काले आफ्नो काम जसरी पनि गर्नुपर्ने अडान राखेपछि केहीबेर भनाभन भएको थियो। स्थिति असामान्य हुन सक्ने भएपछि प्रहरी टोली बेलाइएको थियो।

सांसद खड्काले भने आफूले लामो समयदेखि काम रोक्न नहुने र काम छिटो गर्न आग्रह गरेको बताउँदै कुनै किसिमको तनाव नभएको दाबी गर्नुभयो । उहाँले ४ वर्षदेखि व्यक्तिको जग्गामा बन्ने संरचनामा पनि नियम लाग्ने विषय सही नभएको बताउनुभयो।

मन्त्री महतो र सांसद सचिवविरुद्ध खनिएपछि सचिव खरालले पनि आफूले कानुनअनुसार जुनसुकै काम पनि गर्ने र कानुनविपरीतका काम गर्न नसक्ने बताउनुभएको थियो । मन्त्री महतो सचिवमाथि बढी नै खनिनुभएको प्रत्यक्षदर्शी अन्य कर्मचारीले बताए।

‘मन्त्री आफ्नै सचिवमाथि अनावश्यक रूपमा खनिनुभयो, जुन दुखद थियो’ –मन्त्रालयकै एक कर्मचारीले भने। यद्यपि, सचिव खरालमाथि पनि निर्णय गर्न नसक्ने र काम पनि प्रभावकारी रूपमा गर्न नसक्ने आरोप लाग्दै आइरहेको छ।

मन्त्री महतोले अहिले तीन पक्षले सरकार चलाइरहेको र आफूहरू निरीह बन्नुपरेको बताउनुभएको थियो। उहाँले पहिलो सरकार प्रधानमन्त्री प्रचण्डले चलाएको, दोस्रो सरकार कर्मचारीले र तेस्रो सरकार अख्तियारले चलाएको भन्दै आक्रोश व्यक्त गर्नुभएको थियो।

त्यस क्रमममा सचिव खरालले केही अडान भने लिनुभएको थियो। खरालले कानुनमा अस्पष्टता भएमा कसैको निर्देशन पनि मान्न नसकिने बताउनुभयो।

मन्त्रालयका अनुसार शिवपुरी राष्ट्रिय निकुञ्ज रहेको मध्यवर्ती क्षेत्रमा व्यावसायिक होटल स्थापनाका लागि सांसद खड्का ४ वर्षदेखि प्रयासरत रहँदै आएका थिए । तर, कार्यविधिमा दुई तलाभन्दा ठूला भवन बनाउन नमिल्ने व्यवस्था भएको हुनाले रोकिएको जनाइएको छ।

सांसद खड्काले मन्त्रालय आफ्नो काम गर्न राजी भएको दाबी गर्नुभयो। उहाँले काम नभएमा आफू मन्त्रालयमा नै अनशन बस्ने बताउनुभएको थियो।

यस विषयमा वनमन्त्री महतोसँग प्रतिक्रिया लिँदा उहाँले वन सचिवको निर्णय क्षमता कमजोर हँुदा समस्या सिर्जना भएको आरोप लगाउनुभयो। यद्यपि, वनमन्त्री माथि पनि केही निजी संस्था तथा वन माफियाको निर्देशनमा सञ्चालन हुने गरेको आरोप लाग्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्