दन्किँदो भुटान सन्किँदो नेपाल



काठमाडौं ।

नेपालमा राजतन्त्र फर्काउन खोज्ने जमात बढिरहेका बेला छिमेकी भुटानमा राजतन्त्रले नेपालीभाषी नागरिकमाथि गरेको व्यवहार देखाउने किताब ‘दन्किँदो भुटान’ को पुनः प्रकाशन भएको छ।

गतवर्ष मात्र आप्रवासमा स्वर्गे भएका देवीभक्त लामीटारेको यो किताब अरुले नपढे पनि नेपालमा राजतन्त्र फर्काउन चाहनेहरुले भने पढ्नै पर्छ। भुटानमा पाँच दशकदेखि प्रतिबन्धित किताब ‘दन्किँदो भुटान’ नेपाललगायत विश्वमा फैलिएका भुटानी नेपालीबीच लोकप्रिय छ। मिडिया अनुसन्धानकर्ता विनोद ढुंगेलको सम्पादनमा हालै पुन: प्रकाशित भएपछि नेपालमा यसको चर्चा पुनः शुरु भएको छ।

संघीय लोकतान्त्रिक गणतन्त्रले हजारौं राजा जन्मायो, बरु पुरानै एउटा राजालाई पुनःस्थापित गरौं भन्ने जमात बढिरहेका बेला राजाहरु कति ‘दयालु र देशभक्त’ हुन्छन् भन्ने बुझ्नका लागि ‘दन्किँदो भुटान’को प्रकाशन तथा पठन–पाठन सान्दर्भिक लाग्छ। नेपालमा राणाको सामन्ती सरकार ढालिएको र राजा त्रिभुवनलाई गद्दीमा राखेर पूरापूर अधिकार दिइएको एक वर्षमात्र भएको थियो, अर्थात् २००८ सालको कुरा, भुटानमा ‘जय गोर्खा’ आन्दोलन चर्कियो । त्यस आन्दोलनका अगुवा थिए महासुर क्षत्री।

क्षत्रीलाई भुटानी राजाको नेतृत्वमा रहेको सरकारले जिउँदै छालाको धोक्रोमा हाल्यो, धोक्रोका साथ गह्रौं ढुंगाहरु पनि बाँध्यो र गहिरो नदीमा फालिदियो । यसरी पानीमा डुबाइएका विद्रोही नेता कुनै कारणले बाहिर निस्कने हुन् कि भनेर राजाका सिपाहीहरु बन्दुक तेस्र्याएर केही दिन नदीकिनारमा पहरा दिइरहे। यस घटनाको वर्णन ‘दन्किँदो भुटान’मा देवीभक्त लामीटारेले गरेका छन्। उनी त्यस बेला १६ वर्षका किशोर रहेछन्। क्षत्रीको क्रूर तथा नृशंस मृत्युदण्डले आतंकित भुटानी नेपालीहरु खासगरी जो जय गोर्खा आन्दोलनका नजिक थिए उनीहरु भुटान छोडेर छिमेकी मुलुकतिर पलायन भए। देवीभक्त लामीटारे पनि त्यही समूहका समर्थक थिए।

उनी भारतमा प्रवासी जीवन बिताउन थाले, नेपालको सात सालको आन्दोलनका अगुवा नेता बीपी कोइरालाको निकट पनि पुगे, भारतका माक्र्सवादी प्रकाण्ड विद्वान् राहुल सांस्कृत्यायनबाट प्रभावित पनि भए। यस्तै नेता र विद्वान् व्यक्तित्वको प्रभावमा रहेर उनले लेखे ‘दन्किँदो भुटान’। देवीभक्त लामीटारे २०२८ सालमा स्वयं नेताका रुपमा प्रकट भए। सन्त–साधुको जीवन बिताउँदै खासगरी भारतका विभिन्न शहरमा डुलेर आफ्नो मातृभूमि भुटानमा फर्किने सपना देख्दै आएका देवीभक्त लामीटारेले भुटान स्टेट कांग्रेसको नेतृत्व लिए।

२००९ सालमा गठन भएर २०२६ सालमा राजासमक्ष आत्मसमर्पण गरेपछि विघटित भएको भुटान स्टेट कांग्रेसलाई पुनर्जीवित गरी नेतृत्व दिने देवीभक्त लामीटारेलाई पहिला नै देख्नासाथ गोली ठोक्न भुटान सरकार चाहन्थ्यो। तर, भुटानी सरकारको यो तृष्णा पूरा भएन। उनी अधिनायकवादी राजतन्त्रविरुद्ध आगो ओकलिरहे, भुटानमा लोकतन्त्र बहाल हुनुपर्छ, जबरजस्ती देश निकाला गरिएका हजारौं नेपाली भाषी भुटानीले ससम्मान देश फर्किन पाउनुपर्छ भन्ने अडान राख्दाराख्दै उनी ८८ वर्षको उमेरमा गतवर्ष भारतको हरिद्वारमा बिते।

‘लामीटारेको निधन विश्वभरका भुटानी समुदायका लागि अवश्य पनि एक अपूरणीय क्षति थियो। त्यो क्षतिलाई रोक्न सकिँदैनथ्यो, सकिएन । तर उनको कृतिमार्फत उनको चिन्तनलाई जीवन्त राख्न त सकिन्थ्यो, जुन काम अन्तिम चरणतिर आइपुगेको थियो। त्यसबाट नै उनको अन्तिम विश्रान्तिबाट भुटानी प्रजातान्त्रिक आन्दोलनका लागि भएको क्षतिलाई कम गर्न सकिन्थ्यो।’ सम्पादक ढुंगेलले भूमिकामा लेखेका छन्– भुटान मिडिया सोसाइटीको तर्फबाट गरिएको सम्पादनको अन्तिम प्रतिफल देवीभक्त लामीटारेको हातमै दिन नपाएर निःशब्द भएँ।

नेपालका बीपी कोइरालासँग दाँज्न मिल्ने देवीभक्त लामीटारेलाई कोइरालाको जस्तो सफलता त मिलेन, तर लाखौं भुटानी नेपालीको मुटुभित्र बस्ने उचाइ भने प्राप्त भयो। जहाँ देवीभक्त लामीटारे बसे, त्यस मुटुमा त्यसभन्दा बढी आयतन लिएर बस्यो, भुटानी राजतन्त्रप्रतिको घृणा, उसको क्रूरता र आक्रोश।

नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहले ‘जनताको नासो जनतालाई बुझायौं’ भन्दै नारायणहिटी छोडेर निर्मल निवासतिर लागेपछि नेपालमा गणतन्त्रको विधिवत् स्थापना भयो। मूलतः शान्तिपूर्णरुपमा गद्दी त्यागेका ज्ञानेन्द्रले जाँदाजाँदै सहानुभूति पनि आर्जन गरे। उनले चाहेका भए ठूलो रक्तपात पनि हुनसक्थ्यो, विदेशी शक्ति पनि मुलुकमा प्रवेश गर्न सक्थ्यो। त्यस्तो अप्रिय घटना भएन । दुई सय ३९ वर्षसम्म कायम रहेको पृथ्वीनारायण शाहका वंशजको शासन विनारक्तपात अन्त्य भएको थियो।

पृथ्वीनारायणका छोरा–नातिले जति अधिनायकवादी चरित्र देखाएका र प्रजातन्त्रवादीलाई सताएका भए पनि एकीकरणका अगुवालाई राष्ट्रपिता मान्ने र उनका सन्तानलाई आलंकारिक राष्ट्रप्रमुखसम्म बनाएर संस्कार र सभ्यता जोगाउनुपर्छ भन्ने समुदायसमेत मुलुकमा थियो। बेलायत राजा पालेरै लोकतन्त्रवादी भएको छ भने नेपाल किन हुन सक्तैन भन्ने जमात पनि सानो थिएन।

राजतन्त्रलाई नेपालको पहिचान बनाउन चाहने मनहरुको परिमाण ठूलो भए पनि एकपछि अर्को जनविरोधी व्यवहार र पारस शाहजस्ता अम्मली राजा हुने भविष्य देखेर ती मनहरु पनि गणतन्त्रतिरै लागे। लोकतन्त्रवादी राजनीतिक दल र नेताहरुका जनप्रिय नाराले पनि जनतालाई लोभ्यायो । छिमेकी भारतले पनि नेपालको राजतन्त्रलाई आफ्नो अनुकूल ठानेन।

यी सबैको एकीकृत परिणामले शाह वंशको सत्ता ढल्यो । तर विगत केही वर्षयता विश्वमा नेपालको छवि कमजोर भएको, दलका नेताहरु भ्रष्ट र अक्षम मात्र होइन सारभूतरुपमा देशभक्त नभएको देखिएपछि नेपाली जनतामा राजतन्त्र नै ठीक भन्ने भावना बढेकै हो। कम्तीमा राजतन्त्र फर्किए पनि यति भ्रष्टाचार त हुँदैनथ्यो कि भन्ने मृगतृष्णा विकास भएकै हो । जसरी असन्तोषको मत पाएर रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी जादुमयी तरिकाले सत्तासम्म पुग्यो, त्यही असन्तुष्टिको मत राजतन्त्रप्रति पनि देखिएको हो।

जनताले साँच्चिकै राजतन्त्र फर्काउने, साँच्चिकै रास्वपालाई स्वीकार गर्ने भन्दा पनि नेका–एमाले–माओवादीजस्ता शक्ति सच्चिएर आऊन् भन्ने मनशाय राखेको देखिन्छ । तर, जनताको यो मनशायलाई स्थापित पुराना राजनीतिक दलहरुले कत्ति पनि वास्ता गरेको देखिन्न।

नेकपा एमालेले यस बेला लोकतन्त्रका पक्षमा ‘समृद्धिका लागि संकल्प यात्रा’ गर्नु त ठीकै हो, तर पार्टीभित्रका व्यक्ति–व्यक्तिमा चारित्रिक शुद्धीकरणलाई ध्यान नदिएसम्म यस्ता देश दौडाहाका कार्यक्रम राजनीतिक फण्डाबाजीबाहेक केही साबित हुनेछैनन्। असन्तुष्टिको राजनीति गर्न नेपालीहरु अभ्यस्त पनि छन् । काठमाडौंमा नानीमैया दाहालको सानदार विजय उदाहरणका लागि पर्याप्त छ। यसको पछिल्लो उदाहरण त रवि लामेछाने नै छँदै छन् । दाहाल र लामिछानेहरुले आफ्नो दमले चुनाव जितेका होइनन्, ठूला राजनीतिक दलका कमजोरीका कारण जितेका हुन्।

राजतन्त्र फर्किने नारामा पनि त्यतिखेरसम्म दम रहनेछ जतिखेरसम्म ठूला राजनीतिक दलहरु सच्चिने छैनन्। यद्यपि सम्भावना के पनि उत्तिकै छ भने, यी ठूला भनिएका दलहरु कहिल्यै सच्चिने छैनन् । यस्तो अवस्थामा विदेशी शक्ति नेपालमा प्रवेश गर्नुभन्दा राजतन्त्र फर्किनु नै राष्ट्रिय हितमा हुनेछ।

यसरी हेर्दा झीनो परिमाणमै सही राजतन्त्र फर्किने सम्भावना देखिन्छ। कुन तरिकाले फर्किन सक्छ राजतन्त्र भन्ने विषयमा बुद्धिविनोद पनि भएको देखिन्छ। कतिपय संविधानविद्हरू ‘राजतन्त्रका पक्षमा जनमत बढेर जाने र त्यस्तो शक्तिले दुई तिहाइ बहुमत ल्याएर अहिलेकै संविधान संशोधन गरी राजसंस्था पुनःस्थापित गर्न सकिने विकल्प रहेको बताउँछन्। २०६२/६३ सालको आन्दोलनपछि राजसंस्था चाहने जनमतलाई कुनै स्थान नदिइएको र नेताहरूकै व्यवहारका कारण त्यस्तो जनमतको आधार बढ्दै गएको कतिपयको विश्लेषणलाई नकार्न पनि सकिन्न।

आन्दोलनले त्यस बेला राजसंस्थाप्रति विश्वास राख्ने, परम्परागत शक्ति र सांस्कृतिक शक्तिलाई छिमेकी भारतको समेत आडमा राजतन्त्र फाल्यो, तर ती सबै शक्ति यतिखेर अपमानित र परित्यक्त महसुस गरिरहेका छन्। त्यो असंगठित शक्ति ठूलो हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय संलग्नता र त्यो बेलाको अवस्थाका कारण बोल्न नसकेको हो तर आज अनुकूल अवस्था पाएर पुनः जुर्मुराएको एकथरी विश्लेषकको धारणा छ।

गणतन्त्रपछि देशमा भ्रष्टाचार हट्ला भनेको झन् बढ्यो। राजनीतिक प्रयोग असफल भयो। देशको सार्वभौमसत्तामाथि विभिन्न किसिमका सम्झौता भए, त्यसले गर्दा ती शक्तिहरू संगठित हुन थाले। त्यसैले उनीहरूले दबेको आवाज देखाए। नेपालमा संघीयता, गणतन्त्र र धर्म निरपेक्षता विदेशीको एजेन्डा रहेको बताउँदै आएको त्यो समूह अहिलेको संविधान नेपाली जनताको हित विपरीत भएकाले नै पाँच वर्षमै विरोध शुरु भएको दाबी गर्छ।

यी आदि धारणा र विश्लेषणका बाबजुद सत्य के छ भने, राजतन्त्रको पुनःस्थापना सहज छैन। लोकतन्त्रवादीहरु भ्रष्ट भएका कारण नै पुराना शक्तिहरु जुर्मुराएको कुरामा आशंंका छैन। केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड आदि पुराना शक्ति नसच्चिए पनि छवि स्वच्छ भएका युवाहरु विकल्पका रुपमा देखा पर्न थालेका छन्।

काठमाडौं महानगरपालिकाका बालेन शाह एक त्यस्ता आशलाग्दा नमुना हुन् जसले नयाँ संरचनाको सूत्रपात गर्न सक्छन् । यस्ता अरु पनि नयाँ अनुहार छन् । पुराना नेताहरु पनि सबै भ्रष्ट छैनन्। डा. बाबुराम भट्टराई, भीम रावल, चन्द्र भण्डारी, गोकर्ण विष्ट, गगन थापा, विश्वप्रकाश शर्मा आदि गणतन्त्रवादी नेताहरु भ्रष्टाचारमा मुछिएका छैनन् । स्वच्छ छविका व्यक्ति एकजुट हुने हो र उनीहरुले मुलुकको भविष्य नक्सांकन गरेर जनसमक्ष जाने हो भने राजतन्त्रलाई मसानघाटबाट बिउँत्याएर ल्याउन चाहनेहरु आफैँ समाप्त हुनेछन्।

अन्त्यमा, सम्पादक ढुंगेलले साभार गरेका लामीटारेकै भनाइ सापट लिऔं, यस भनाइले पनि राजतन्त्र फर्काउनु हानिकारक नै देखिन्छ। देवीभक्त लामीटारेलेख्छन्, ‘प्राचीन समयमा राजाले केवल आफ्ना स्वार्थका लागि आफूलाई सूर्यवंशी र चन्द्रवंशी हौं भन्ने गफ ठोक्दथे। त्यस्ता बोक्रे गफको लामो लेखाजोखा प्राचीन पौराणिक ग्रन्थहरुमा पाइन्छ तर वर्तमान युगले अब राजालाई भगवान् मान्न सक्दैन तर एउटा शोषकहरुको सरदारचाहिँ मान्नेछ।’

प्रतिक्रिया दिनुहोस्