धादिङको थाक्रे गाउँपालिका : असल अभ्यासको भण्डार



धादिङ जिल्लामा पर्ने थाक्रे गाउँपालिका नेपालका ७५३ वटा स्थानीय सरकारमध्येको एक हो। यो गाउँपालिका यस पंक्तिकारको जन्मथलो पनि हो । रामकुमार आचार्य यस पालिकाको अध्यक्ष हुनुहुन्छ भने यन्त्रबहादुर थापा उपाध्यक्ष हुनुहुन्छ।

यस पंक्तिकारले क्षमता विकासको कार्यक्रम सञ्चालन गर्दा यहाँका जनप्रतिनिधि र कर्मचारीबाट प्राप्त सूचनाका आधारमा थाक्रे पालिका असल अभ्यासको भण्डार नै भएकाले अन्य पालिकाको जानकारीका लागि यो आलेख तयार गरेको छु।

थाक्रे गाउँपालिकाले असहाय महिला बालबालिका सुरक्षित आवास गृह सञ्चालन गरेको छ । यसै गरी, ज्येष्ठ नागरिक आवास गृह निर्माण भएको छ। यस पालिकाले एक घर एक सदस्य महिला सशक्तीकरण तथा संस्थागत परियोजनाअन्तर्गत महिनाको २९ दिन मेरा लागि र एक दिन समुदायका लागि कार्यक्रम सञ्चालन गरेको छ।

यसै गरी, विपन्नसँग अध्यक्ष कार्यक्रममार्फत प्रतिव्यक्ति रु. २५ हजारसम्मको सहयोग उपलब्ध हुँदै आएको छ। यस पालिकाले बैंकिङ माध्यमद्वारा सामाजिक सुरक्षा भत्ता गाउँघरमै उपलव्ध हुने प्रबन्ध मिलाएको छ । यस पालिकाले अनलाइन घटना दर्ता आरम्भ गरेको छ । बाबुआमाविहीन बालबालिकालाई यस पालिकाले मासिक रु. २ हजार उपलव्ध गराउँदै आएको छ । महिलाका लागि सीपमूलक तालिम सञ्चालन गरेको छ । यस पालिकामा विद्युतीय हाजिरीलाई प्रभावकारीरुपमा लागू गरिएको छ।

यस पालिकाले १२ कक्षासम्म निःशुल्क शिक्षा सञ्चालन गरेको छ । त्यस्तै प्लस टु साइन्सतर्फ आवासीय सुविधासहित निःशुल्क क्याम्पस सञ्चालन गरेको छ । मदन भण्डारी प्रौद्योगिक महाविद्यालय निर्मार्णाधिन अवस्थामा छ भने सिभिल इन्जिनियरिङको कक्षा सञ्चालन गरेको छ । यस पालिकाले संविधानबमोजिम आधारभूत शिक्षा अनिवार्य र निःशुल्क रहने घोषणा गरेको छ। साथै स्कूलको परीक्षाको व्यवस्थापन कुशलरुपमा गरिआएको छ। सुत्केरी शिक्षकको सट्टामा शिक्षकको व्यवस्था गरिएको छ।

शिक्षक छनौटको कार्यलाई पूर्ण पारदर्शी तुल्याइएको छ। पालिकाबाट शिक्षकको समायोजन पनि गरिएको छ । साथै, शिक्षकको क्षमता विकासको तालिम पनि सञ्चालन गरिएको छ। यस पालिकाले अन्तरविद्यालय प्रतिस्पर्धात्मक कार्यक्रमका माध्यमबाट मेधावी विद्यार्थीको उत्पादनको प्रयास गरिरहेको छ। यो पालिकाले जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको छ।

यस पालिकाले सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। यसै गरी सुत्केरी र कुरुवालाई आवश्यकतानुसार खाने–बस्ने सुविधा उपलब्ध गराएको छ। यसका अतिरिक्त हरेक सुत्केरीलाई पोषण खर्चबापत रु. १५ सय उपलब्ध गराउँदै आएको छ भने रु. १५ सय बराबरको सरसफाइ किट वितरण गर्दै आएको छ।

साथै, जोखिमको अवस्थामा प्राथमिकताका साथ विशेष सहयोगको प्रबन्धसमेत गरेको छ। मानसिक रोगको समेत पालिकाबाट निःशुल्करुपमा औषधि वितरण गरिएको छ। गम्भीर बिरामीलाई रिह्याब सेन्टरमा राखी उपचार गर्ने प्रबन्ध मिलाइएको छ।

यसै गरी, पालिकाले निःशुल्क अक्सिजन ग्यास घरघरमा पुर्‍याउने कार्यक्रम राखेको छ। यस पालिकाले एकजना एमबीबीएस डाक्टरको व्यबस्था गरेको छ। साथै, असहाय बेवारिसे संरक्षणका लागि हाम्रो मानव सेवा घर निर्माण भएको छ। यस पालिकाले महिला स्वास्थ्य स्वयंसेविकहरुलाई मासिक रु. १५ सय उपलब्ध गराउनुका साथै निवृत्तिभरणमा जानेलाई एकमुष्ट रु. ३० हजार उपलब्ध गराउने प्रबन्ध गरेको छ। फिल्डमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई यातायात खर्चको व्यवस्था गरिएको छ। निःशुल्करुपमा रेबिजको खोप उपलब्ध गराउँदै आएको छ।

यस पालिकाले उत्पादकत्व वृद्धिका लागि शून्य ब्याजदरमा बैंकमार्फत ऋण प्रवाह गरेको छ। पालिकाबाट ट्याक्टर, प्लास्टिक पोखरीको सामग्री, तरकारीको बीउलगायत वितरण गरिएको छ। यस पालिकामा भूमि वर्गीकरणको काम सम्पन्न भएको छ। पाखोबारीमा सिंचाइ गरी नगदेबाली उत्पादन वृद्धि गर्न बृहत् पाइप सिंचाइ कार्यक्रम शुरु गरिएको छ।

सबै ११ वटा वडामा कृषि तथा पशु स्वास्थ्य प्राविधिक खटिएका छन्। निःशुल्क भेटेरिनरी औषधि वितरण गरिआएको छ। यस पालिकामा एक वडा एक पकेट बाली कार्यक्रम सञ्चालनमा छ। तरकारी तथा मकै खेतीमा पालिकाले ५० प्रतिशत अनुदान दिएको छ। निःशुल्क पशुपक्षीलाई खोप सेवा प्रदान गरेको छ। यो पालिका माटो परीक्षण गर्न र पशु स्वास्थ्य ल्याब स्थापना गर्न अग्रसर भइरहेको छ। साथै किसान परिचयपत्र वितरण गर्ने, किसानहरुको समूह गठन गर्ने तथा कृषि र पशुपालनसम्बन्धी परामर्श दिनेजस्ता कार्यहरु गर्दै आएको छ।

यस पालिकाले घर बगैँचा कार्यक्रम सञ्चालन गरेको छ। यहाँका सबै वडामा सडक सञ्जाल पुगेको छ । यसै गरी, करिब ९० प्रतिशत घरमा खानेपानीको सुविधा विस्तार भएको छ। दुईवटाबाहेक अन्य नौवटा वडामा वडा कार्यालय भवन निर्माण भइसकेको छ । यस पालिकाले १५ शैयाको अस्पताल निर्माणका लागि जग्गा खरिद गरेको छ।

पालिकाको भव्य कार्यालय भवन निर्माण भएको छ। साथै ६ वटा पक्की पुल र दुईवटा झोलुंगे पुल निर्माण भएको छ। यस पालिकाले सडक कालोपत्रे गर्ने र ढलान गर्ने कार्य आरम्भ गरेको छ। यस पालिकाभित्र रहेका पुराना मठ, मन्दिर, पौवा निर्माण र संरक्षणको काम भइरहेको छ। साथै पालिकाभित्रका प्राकृतिक पोखरीहरुको संरक्षण गरिएको छ। यस पालिकाले सरस्वतीको विशाल मूर्ति स्थापना गरी आन्तरिक पर्यटन प्रवद्र्धन गरेको छ। त्यस्तै दिगो पूर्वाधार निर्माणका लागि रु. ५० लाखमाथिका योजना ठेक्कामार्फत सञ्चालन गर्ने नीति अख्तियार गरेको छ।

यस पालिकाद्वारा सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालन गरिएको छ। जसअन्तर्गत वैदेशिक रोजगारीमा जानुपूर्व र फर्किएपछिका लागि सूचनामा पहुँच विस्तार गरिनुका साथै सीपमूलक तालिम प्रदान गरिएको छ । साथै, वैदेशिक रोजगारीमा पासपोर्ट होल्ड, ठगी, अलपत्र, अंगभंग, मृत्युलगायतका घटनामा न्यायका साथै क्षतिपूर्ति प्राप्तिका लागि पालिकाले सहकार्य गरिआएको छ । वैदेशिक रोजगारीले निम्त्याएको मानसिक समस्या समाधन गर्न मनोपरामर्श सेवा पनि प्रदान गरिआएको छ। वित्तीय साक्षरताअन्तर्गत वैदेशिक रोजगारीबाट प्राप्त रकमको सदुपयोगका लागि पालिकाले परामर्श सेवा प्रदान गरेको छ। वैदेशिक रोजगारीमा जाने र फर्किएकाहरुका लागि उपयोगी हुने गरी पालिकाले वृत्तचित्र पनि निर्माण गरेको छ ।

पालिकाको न्यायिक समितिले उजुरीहरु तदारुकताका साथ दर्ता गर्ने, क्षेत्राधिकारबाहिरका भए दरपिठ गर्ने, उजुरी परेपछि तत्काल शुरु कारबाही आरम्भ गर्ने गरेको छ । साथै, कानुनले तोकेको म्यादभित्रै विवादको किनारा लगाउने गरेको छ । विवाद गर्ने पक्ष र विपक्ष उपस्थित नभएको अवस्थामा उनीहरुकै स्थानमा पुगेर पनि न्यायिक समितिले मिलापत्र गराउनेलगायतको पहल गरिआएको छ । यस पालिकाको न्यायिक समितिले विद्यार्थीमाझ अदालत कार्यक्रम सञ्चालन गरेको छ । हरेक वडामा मेलमिलाप केन्द्र स्थापना गर्नुका साथै मेलमिलापकर्ताहरुको तालिमसमेत सञ्चालन गरेको छ । यसका अतिरिक्त, फैसला भएका मुद्दाको कार्यान्वयनको अनुगमन पनि गर्ने गरिएको छ ।

थाक्रे गाउँपालिकाको वडा नं. १ मा निःशुल्क निवेदन, फोटोकपी र मुचुल्काको सेवा उपलब्ध गराइएको छ । यस वडाले समूहलाई बाजा खरिद गरी उपलब्ध गराएको, निःशुल्करुपमा औषधि उपलब्ध गराएको, युवा क्लब गठन गरेको र विपन्न नागरिकलाई आर्थिक सहायता उपलब्ध गराएको छ । वडा नं. २ मा एक घर एक धारा कार्यक्रमलाई सफलरुपमा सञ्चालनमा ल्याइएको छ । वडा नं. ३ मा निःशुल्करुपमा पशुपक्षीको औषधि वितरण भएको छ । यस वडाले योजनाहरुको नियमित निरिक्षण पनि गरिरहेको छ । वडा नं. ४ र ५ मा सेवाग्राहीलाई निःशुल्क फोटोकपी सेवा उपलब्ध गराएको छ । साथै, सत्तरी वर्षमाथिकालाई र पाँच वर्षमुनिकालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ । यस वडाले कृषक कार्ड वितरण गरेको, इमरजेन्सीको अवस्थामा सेवाग्राहीलाई चौबीसै घण्टा सेवा–सुविधा उपलव्ध गराउँदै आएको र सेवाहरु अनलाइन पद्धतिमा आबद्ध गरेको छ ।

वडा नं. ६ मा गरिब विपन्न वर्गको लागि न्यानो कपडा वितरण, दलितवर्गलाई सिलाइ मेसिन वितरण, किसानलाई बीउ वितरण, किसानलाई अनुदान कार्डको व्यवस्था, अनुदानमा मल वितरण, मजदुर, विपन्न, दलित बस्तीमा जस्तापाता वितरण, महिला सीप विकास तालिम सञ्चालन, खेलाडीका लागि खेलकुदका सामग्री वितरण भएको छ। साथै, विद्यार्थीलाई छात्रवृत्ति, सिभिल इन्जिनियरिङको पढाइ, शैक्षिक गुणस्तरमा जोड, एमबीबीएस डाक्टरबाट सेवा प्रदान, रेबिज भ्याक्सिन, स्वास्थ्य चौकीमा आवश्यक औषधि र सामग्रीको व्यवस्था, दुई किमि पक्की पिच र ढलानको काम भएको छ।

थाक्रे गाउँपालिकाको वडा नं. ७ बाट अनलाइन घटना दर्ता, सुत्केरी भेटघाट कार्यक्रममा रु. ५५ सय बराबरको पोषण खाना हस्तान्तरण, किसानहरुलाई सुन्तला, एभोकाडो, कागती, नासपातीको बिरुवा वितरण, गलैँचा बुन्ने तालिम, हाते ट्याक्टर खरिदमा ५० प्रतिशत अनुदान, अशक्त ज्येष्ठ नागरिकलाई घरमै भत्ता वितरण गरिएको छ । वडा नं. ८ मा कक्षा १० सम्मलाई दिवा खाजा, ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा, फलफूलको बिरुवामा अनुदान, ज्येष्ठ नागरिकलाई सम्मान र पोषण खानेकुरा वितरण, वडाका प्रमुख सडकहरु कालोपत्रे तथा ढलान गर्ने काम भएको छ।

वडा नं. ९ मा एक घर धारा कार्यक्रम, ५० प्रतिशत छुटमा बीउ वितरण, पाटीपौवा, वृद्धाश्रम, मानव आश्रम, चार किमि सडक कालोपत्रे, निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क औषधि वितरण, किसान परिचयपत्रको व्यवस्था, ज्येष्ठ नागरिक सम्मान कार्यक्रम भएको छ । वडा नं. १० मा निःशुल्क निवेदन र फोटोकपीको व्यवस्था, ज्येष्ठ नागरिकको सम्मान, सबै टोलमा मोटर बाटोको व्यवस्था, प्रायः सबै घर–परिवारमा खानेपानीको सेवा पुर्‍याइएको छ ।

थाक्रे गाउँपालिकाको वडा नं. ११ मा दलित महिलालाई बाजा वितरण, महिलालाई क्षमता विकास तालिम, तीन महिने कम्प्युटर तालिम, किसानलाई अनुदान कार्ड वितरण, दलित समुदायमा मेसिन वितरण, प्रत्येक टोलमा तीन–तीन महिनामा निःशुल्क स्वास्थ्य परीक्षण गर्ने र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

यसरी थाक्रे गाउँपालिकाबाट ‘समृद्ध थाक्रे ः खुशी थाक्रेवासी’ नाराका साथ सम्पादित काम र असल अभ्यासहरु अन्य पालिकाका लागि अनुकरणीय रहेका छन् । यस पालिकाको कार्य–सफलताको शुभकामना व्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस्