विमानस्थलको कमजोर सुरक्षा व्यवस्थापन



काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एउटै समूहले १ सय ३८ केजीसम्मको सुन चुपचाप तस्करी गरिसकेको घटनाले देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थापनको कमी–कमजोरी र त्यसको फाइदा उठाउने तस्करहरुको जालो कतिसम्म बलियो रहेको छ भन्ने तथ्य उजागर गरिदिएको छ।

पछिल्लोपटक गत मंंसिर २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएको १४ केजी सुन बरामद गरिएको विषयमा छानबिनपछि सो तथ्यको खुलासा भएको हो।

मीनबहादुर घलेसहित टोलीले विदेशबाट नेपालमा पटक–पटक गरी हालसम्म सो परिमाणको सुन अवैधरुपमा नेपालमा भित्र्याइसकेको तथ्यले चोरौ पैठारी नियन्त्रणको लागि सम्बद्ध निकायको बलियो पहलकदमी र विशेषतः सुरक्षा व्यवस्थापनलाई मजबुत बनाउनुपर्ने आवश्यकता देखाएको छ।

सुन तस्करीको सम्बन्धमा गठित छानबिन समितिले औंल्याएको सुरक्षा व्यवस्थापनको फितलो पक्षसँगै अरु पक्षलाई सुधार गर्दै नजाने हो भने यस्ता घटना बारम्बार दोहोरिन्नन् भन्न सकिने बलियो आधार छैन।

१४ किलो सुन तस्करी प्रकरणमा छानबिन गर्दा यति धेरै सुन तस्करी भएको खुल्न आएको हो। विदेशबाट ल्याइएको सुन त्रिभुवन विमानस्थलमा कार्यरत कर्मचारीहरुसँग सेटिङ मिलाएर निर्बाधरुपमा तस्करी हुने गरेको छ।

१४ किलो सुन तस्करीको क्रममा परेकाहरुले स्वीकार गरेको आधारमा एकपटकमा ५ देखि १४ किलोसम्म सुन तस्करी हुने गरेको छ। समितिले छानबिनका लागि माग गरेअनुसारका क्लोज सर्किट (सीसी) क्यामरा फुटेज नपाउनुलाई सुरक्षाको कमजोर व्यवस्थापन कतिसम्म कमजोर रहेको छ भन्ने देखाउँछ।

समितिले छानबिनका क्रममा विमानस्थलको आगमनतर्फको पछिल्लो तीन महिनाको सीसी टीभी रेकर्ड माग गरेको थियो । तर, ब्याकअपको सीमितता भन्दै २१ दिनसम्मको मात्रै रेकर्ड पाइएको हो।

समितिले विमानस्थलको भीआईपी कक्षमा जाने सिँढीको सीसी टीभी फुजेट पनि मागेको थियो । तर, त्यहाँको सीसी क्यामरा नै आउट अफ सर्भिस रहेको जानकारी समितिलाई दिइएको छ।

जबकि, सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका एकजनाले भीआईपी कक्ष हुँदै माथिल्लो तलाको शौचालयमा गएर सामान बुझाउने गरेको बयान दिएका छन् । त्यहाँको सीसी टीभीले किन काम गरेको थिएन भन्ने छानबिनकै विषय भएको छ।

समितिले अध्यागमन कार्यालयले पटक–पटक दुबई, सिंगापुर, हङकङ, थाइल्यान्डलगायतका देशमा आवागमन गरिरहेका यात्रुहरूको सूचना भन्सार तथा प्रहरीलाई दिने–लिने व्यवस्था मिलाउनुपर्ने सुझाव दिएको छ।

त्यसै गरी भन्सार विभागले दुबई, सिंगापुर, हङकङ, थाइल्यान्डलगायतका देशमा आवागमन गरिरहेका यात्रुहरूको ती देशका भन्सारमा घोषणा गरेको विवरण अग्रिमरूपमा प्राप्त गर्न आवश्यक व्यवस्था मिलाउनुपर्ने पनि सुझाव दिएको छ।

यस्तै व्यक्तिगत सवारीसाधनहरू मोटरसाइकल, स्कुटर तथा कार सेक्युरिटी चेक प्वाइन्टभन्दा भित्र लगी आफ्नो एयरसाइड एरियामा रहेको कार्यालय परिसरमा राख्ने गरेको देखिएकाले त्यस्ता सवारीसाधन सेक्युरिटी चेक प्वाइन्टभन्दा भित्र लैजान रोक्नुपर्ने सुझाव समितिको छ।

समितिले नेपाल आयल निगम, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको सिनामंगल चोकस्थित गेटमा वाक थ्रो मेटल डिटेक्टर तत्काल राख्नुपर्ने सुझाव ष्पनि दिएको छ।

त्रिभुवन विमानस्थलबाट निर्बाध सुन तस्करी भइरहेको सन्देशले नेपालको छवि राम्रो बनाउँदैन। अर्कोतर्फ यसले आर्थिक अपराधसँगै आर्थिकरुपमा निकै नराम्रो असर पुर्‍याउनेछ।

यसले गर्दा सुनतस्करीलाई नियन्त्रण गर्न समितिले दिएका सुझावहरुको अक्षरशः पालना गर्न सरकारले बलियो इच्छाशक्ति र प्रतिबद्धता देखाउनुपर्दछ।

सुशासनको पक्षमा कदम चालेर सन्देश दिएको वर्तमान सरकारले यी विषयलाई गम्भीररुपमा लिएर सुनतस्करी रोक्न ठोस कदम चाल्नुपर्दछ। त्यसको आधार भनेको समितिको सुझावलाई ध्यानमा राखी कार्ययोजना बनाउनु हो।

प्रतिक्रिया दिनुहोस्