उस्ताद यशराज : जन्म नेपाल, प्रसिद्धि भारतमा



काठमाडौं ।

भनिन्छ, कलाको भाषा र सीमा हुँदैन। कला नै त्यस्तो माध्यमको हो, जसलाई भाषा र सीमाले छेक्न सक्दैन। जसको उदाहरण हुन् नेपालमा जन्मिएर भारतीय संगीतका लागि प्रसिद्धि कमाएका उस्ताद यशराज।

ललितपुरको गाबहालमा पिता उस्ताद स्व. जलेशानन्द राजोपाध्याय तथा माता स्व. ऋद्धेश्वरी राजोपाध्यायका पुत्र उनको वास्तविक नाम सुदर्शन राजोपाध्याय हो, तर सांगीतिक दुनियाँमा भने उस्ताद यशराजको नामबाट प्रसिद्धि कमाएका छन्।

उनको पिता जलेशानन्द पनि आफ्नो समयका प्रख्यात इसराजवादक थिए, जो रेडियो नेपालमा कार्यरत थिए। बाल्यकालदेखि नै संगीतमा रुचि राख्ने उनको पारिवारिक वातावरण पनि संगीतमय थियो। पिताको सामिप्यमा रहेर उनले ८/९ वर्षको उमेरमै तबला बजाउन सिके।

अल इन्डिया रेडियोबाट प्रसारित हुने विख्यात सरोदवादक उस्ताद अली अकबर खाँको सरोेदवादनबाट प्रभावित उनी आफू पनि सरोदवादनतर्फ आकर्षित भए।

सरोदवादनप्रतिको आकर्षण देखेर उनका पिताले १२ वर्षकै उमेरमा कोलकातामा गई उनै प्रख्यात सरोदवादक उस्ताद अलि अकबरको जिम्मा लगाइदिए र साथमा एउटा सरोद र तीन हजार रुपिँया पनि छोडिदिए।

अन्ततः उनी आफ्नो अविश्राम साधना र मेहनतबाट कुशल सरोदवादकका रूपमा स्थापित हुन सफल भए। गितार जस्तै देखिने विशेषगरी भारतमा प्रख्यात परम्परागत बाजा सरोदवादनमार्फत भारत र नेपाल मात्र नभई विभिन्न देशमा गई आफ्नो प्रस्तुतिद्धारा मन्त्रमुग्ध पार्दै आएका छन्।

२०५९ मा रेडियो नेपालले आयोजना गरेको जिल्लास्तरीय सांगीतिक प्रतिस्पर्धामा प्रथम स्थान हासिल गरेका उनले प्रयाग संगीत समिति कोलकाताबाट शास्त्रीय संगीतमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् भने त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र जनप्रशासनमा समेत स्नातकोत्तर गरेका छन्।

आफ्नो जीवनको महत्वपूर्ण तीन दशक सरोदवादनमा खर्चिएका उनले रेडियो नेपाल र होटल अन्नपूर्णलगायतमा सरोदवादकको रूपमा बिताइसकेका छन्।

नेपालीमा सयभन्दा बढी र नेवारीमा दर्जनौं गीत रेकर्ड गराएका उनको वान डे राग, सोलफुल म्युजिक फर मेडिटेसन, सुरिली साँझ, पलपल, पानी सरी, नसाला, हसाना, छनु निन्हु, छाँगु लामन्ती, त्यो रात, द गोल्डेन कलेक्सन अफ सुदर्शन राजोपाध्यायजस्ता एलबम प्रकाशित छन्।

कोभिडको समयमा कविता लेखक बनेको बताउने उनको कवितासम्बन्धी पुस्तक पनि प्रकाशित छन् भने काव्य संग्रह आत्माका प्रष्फुटनहरू प्रकाशनमा आएको छ।

सरोदका अलावा मादल, पियानो, गितारजस्ता वाद्यवादनमा समेत पोख्त उनी आफूलाई बाँसुरी, भायोलिन र सांरगीबाहेक सबै प्रकारका बाजा बजाउन आउने बताउँछन्।

हाल आफ्नो जन्मभूमि नेपालमा रहेर नेपाल, भारतलगायत विश्वका विभिन्न देशमा सांगीतिक सुगन्ध फैलाइरहेका यशराज नेपाललगायत अन्य देशका डिप्रेसन र एन्जाइटीजस्ता मानसिक समस्यासँग जुध्दै आएका बिरामीका लागि सांगीतिक योग सेसनसमेत शुरु गरेका छन्।

‘यदि, कसैको पढाइमा ध्यान जा“दैन भने उनीहरूका लागि सांगीतिक योग फाइदाजनक हुन सक्छ’ उनको ठम्याइ छ। संगीत प्रतिष्ठान र हिन्दू वाहिनी नेपाल ललितपुरको वर्तमान अध्यक्ष रहेका उनी पश्चिम बंगालको सरकारी निकायबाट संगीत मंजरी, गुजारतमा सम्पन्न सुरिली साँझबाट स्वर्णपत्र, महिला बालबालिका तथा युवा सचेतना समाज, राजस्थानबाट इन्डियन बेस्टिज अवार्ड, इन्दोरबाट राष्ट्रिय रत्न, जयपुरबाट जयपुर रत्नलगायत नेपाल र भारतका विभिन्न स्थानमा विभिन्न अवार्ड सम्मान तथा पदवीबाट विभूषित छन्।

नेपालको संगीत क्षेत्रमा प्रतिभा भएर मात्र बाँच्न सहज नरहेको बताउने उनले होटल उद्योगलाई आफ्नो दोस्रो पेशाको रूपमा अँगाल्दै आएका छन्।

१६ वर्षसम्म होटल हायात रिजेन्सीमा फुड एन्ड बेभरेज कन्ट्रोलरका रूपमा काम गरेका उनी हाल हिमालय होटलमा आबद्ध छन्। सरकारले संगीत क्षेत्रको विकासका लागि उल्लेख्य रूपमा ध्यान नदिएको बताउने उनी संगीत अध्धयनका लागि अन्य कलेजको स्थापना गरिनुपर्नेमा जोड दिन्छन्।

प्रतिक्रिया दिनुहोस्