नातिकाजी सम्मान र पुरस्कार घोषणा



काठमाडौं ।

संगीत साधक नातिकाजीको ९९औं जन्मजयन्तीको अवसर पारेर मंगलबार राजधानीमा उनको नाममा प्रदान गरिने पुरस्कार तथा सम्मानको घोषणा गरिएको छ।

मित्रपार्कस्थित नातिकाजी निवासको आँगनमा नातिकाजी स्मृति समाजले एक कार्यक्रमको आयोजना गरी नेपाली गीत–संगीत तथा पत्रकारिताको क्षेत्रबाट योगदान पुर्‍याउने संगीतकर्मी र पत्रकारलाई विभिन्न सम्मान र पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो।

कार्यक्रममा समाजका उपाध्यक्ष दीपक श्रेष्ठले यस वर्षको नातिकाजी राष्ट्रिय विशिष्ट सम्मान गीतकार आनन्द अधिकारी, सुनील थापा, भूषण पोखरेल, राम भट्टराई र वसन्त वित्यासी थापा, वाद्यवादक केशव सुनाम, कुमार सिंह र सुवर्ण लिम्बू, परम्परागत संगीतकार धर्म मुनिकर र गायक सुदेश शर्मालाई प्रदान गरिने जानकारी गराए।

त्यस्तै, नातिकाजी राष्ट्रिय संगीत पुरस्कारबाट गीतकार विजय शिवाकोटी, गायक शिशिर योगी र बानिका प्रधान तथा संगीतकार राजनराज शिवाकोटी पुरस्कृत हुने भएका छन्।

नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कारबाट गायक सञ्जय तुम्रोक, गायिका रचना रिमाल र संगीतकार शशी विक्रम थापा पुरस्कृत हुने भएका छन् भने नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार लोक गायक अमृत खातीलाई प्रदान गरिने भएको छ।

नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कारबाट भने पत्रकारद्वय शान्तिप्रिय र कृष्ण भट्टराईलाई प्रदान गरिने भएको छ।

कार्यक्रममा नातिकाजीको संगीतकर्म र योगदानको चर्चा गर्दै समाजका अध्यक्ष तथा लोकप्रिय गायक, संगीतकार तथा गीतकार शम्भुजित बासकोटाले नातिकाजी सम्मान र पुरस्कार केही सातापछि शितल निवासमा विशेष कार्यक्रम आयोजना गरी राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रदान गरिने बताए।

बासकोटाले नातिकाजीको जन्मजयन्तीकै अवसरमा मंगलबार साँझ नै पशुपतिको आरतीस्थलमा नातीकाजीद्वारा संगीतबद्ध र स्वरबद्ध भजन विभिन्न गायक गायिकाले प्रस्तुत गरेको जानकारी पनि गराए।

‘नाति दाइ संगीतको महासागर हुनुहुन्थ्यो। उहाँले हरेक प्रकारको संगीतबाट यो क्षेत्रलाई उन्नत बनाउनुभएको छ। अहिलेका गायक गायिकाले उहाँले संगीत दिनुभएको गीतहरू सुने मात्र पनि रियाज गरेसरह हुन्छ। नाति दाइले संगीतको हरेक आरोह अवरोह प्रयोग गर्नुभएको छ। त्यसैले, उहाँले संगीत भर्नुभएको गीतबाट कस्तो नोट चाहिन्छ वा अरु के चाहिन्छ सबै लिन सकिन्छ’ सञ्चारकर्मी दिनेश डीसीद्वारा सञ्चालित कार्यक्रममा बासकोटाले भने।

‘नाति दाइ र मबीचमा के मिल्यो थाहा छैन, म र उहाँ दाजुभाइजस्ता भयौँ। दाइको जन्मजयन्तीको अवसरमा यसपटकबाट उहाँले संगीत र स्वर भर्नुभएको भजन पशुपतिको आरतीस्थलमा प्रस्तुत गरेर उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्ने व्यवस्थाको थालनी गरेका छौँ।’

नातिकाजी आफ्नो समयको कालजयी संगीत सिर्जना गर्ने महान संगीतकार थिए। उनको संगीतमा तयार भएका दर्जनौं गीत कालजयी छन्।

उनको संगीत एउटा कालखण्डको मात्र नभई आउने समयको समेत प्रतिनिधिको रूपमा रहेका छन्। सानै उमेरमा आमा–बुबा गुमाएका नातिकाजी गुह्येश्वरीस्थित मामाघरमा हुर्किए।

मामाघरका बाजे गुह्येश्वरीका पुजारी भएका कारण पशुपति र गुह्येश्वरी मन्दिरमा हुने विभिन्न भजन कार्यक्रममा सहभागिता जनाउने नातिकाजी बाजेको पछि लागेर भजनमा सरिक हुँदाहुँदै संगीत क्षेत्रमा उदाएका थिए।

आफ्नो स्वरमा लगभग दुई सय जति गीत रेकर्ड गराएका नातिकाजी २०१६/०१७ सालपछि गाउन छाडेर संगीत सिर्जनातर्फ मात्र केन्द्रित भएका थिए।

नेपाली संगीतका लागि स्वर्णिम युग मानिएको २०२० सालदेखि २०४० सम्मको समयका महत्वपूर्ण धरोहर रहेका नातिकाजीले आधुनिक, फिल्मी, नेवारी, राष्ट्रिय, लोक, भजन गरी सबै विधाका गीतमा संगीत भरेका छन्।

२२ वटा जति गीति नाटकका लागि संगीत सिर्जना गरेका नातिकाजीका करिब चार हजार गीतमा संगीत दिएका छन्। नातिकाजीको २०६० साल कार्तिक १६ गते ७७ वर्षको उमेरमा निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्