गलेश्वरका होटल तथा किराना पसलमा अनुगमन



म्याग्दी ।

म्याग्दीको गलेश्वर क्षेत्रमा सञ्चालनमा रहेका होटल, रेष्टुरेण्ट तथा किराना पसलहरुको स्थलगत अनुगमन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको अगुवाइमा म्याग्दीका सरोकारवाला निकायसहितको एक टोलीद्वारा गलेश्वरमा सञ्चालित होटल तथा किराना पसलहरुको आज बिहीबार अनुगमन गरिएको हो ।

उक्त टोलीले रघुगंगा गाउँपालिका–३, चमेरे, राहुघाट र बेनी नगरपालिका–९, घतानस्थित गलेश्वर बजारमा सञ्चालित होटल तथा पसलहरुको अनुगमन गरेको जनाएको छ । बजार तथा राजमार्ग क्षेत्रमा सञ्चालित होटल तथा पसलहरुमा सामानहरुको आपूर्ति, वस्तु तथा सेवाको उत्पादन, भण्डार र वितरणको वास्तविक अवस्था पत्ता लगाई कमीकमजोरी भेटिएमा सुधार्ने उद्देश्यसहित अनुगन गरिएको थियो ।

बजार अनुगमनको टोलीबाट रघुगंगा–३, चमेरे र राहुघाटमा सञ्चालित चमेरे रेष्टुरेण्ट एण्ड होटल, विद्या भण्डारी होटल एण्ड खाजाघर, मेरिस होटल एण्ड रेष्टुरेण्ट, चालिसे किराना स्टोर्स, परिचय मःम रेष्टुरेण्ट एण्ड थकाली भान्छा घर तथा मिम किराना स्टोर्समा अनुगमन गरिएको छ । यसैगरी प्रतिमा होटल ठकुरी लज एण्ड रेष्टुरेण्ट, होटल रिभर–भ्यू, मदरल्याण्ड होटल एण्ड रेष्टुरेण्ट, ठकुरी होटल एण्ड रेष्टुरेण्ट, प्याराडाइज होटल, होटल ताजमहल, डिलु किराना पसल, ईश्वर खाजा घर, निर्दोष किराना पसल र होटल याक बेनी प्रालिमा अनुगमन भएको छ ।

चमेरे, राहुघाट र गलेश्वर बजार क्षेत्रका होटल तथा रेष्टुरेण्टहरु १३ र किराना पसल ५ गरी कुल १८ वटा होटल एवं खाद्यान्न पसलहरुमा अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका खाद्य निरीक्षक सहन्साकुमार मेहताले बताउनुभयो । उहाँले अनुगमनको क्रममा केही होटल तथा रेष्टुरेण्ट र किराना पसलहरुमा अधिकांश पेयपदार्थहरु कोकाकोला, फेन्टा, क्यानबियर, बियरलगायत म्याद सकिएको भेटिएको जानकारी दिनुभयो ।

होटल, रेष्टुरेण्ट र केही पसल दर्ता नगरिकन सञ्चालन गरिएको, म्याद सकिएका पेयपदार्थहरु बिक्री वितरण गरेको, म्याद सकिएका सामान पसलको टाँसीमा बिक्री गर्न राखेको, मूल्यसुची नटाँसको जस्ता कमीकमजोरीहरु पाइएको छ। अनुगमनको क्रममा भेटिएका कमीकमजोरीहरुलाई तत्काल सुधार गर्न र होटल तथा पसल एक हप्ताभित्र कानुनअनुसार दर्ता गरी सञ्चालन गर्न निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षक मेहताले बताउनुभयो ।

अनुगमन टोलीले खाद्य स्वच्छता कायम गर्न पनि निर्देशन दिएको जनाएको छ । अनुगमनको क्रममा होटल तथा किराना पसलहरुबाट २२ हजार पाँचसय रुपैयाँ बराबरको म्याद नाघेका पेयपदार्थहरु नष्ट गरिएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका कम्प्युटर सहायक सन्तोष ढुङ्गानाले जानकारी दिनुभयो । अनुगमनको क्रममा भेटिएका कमीकमजोरी नसुधारे कानुनी कारवाही गरिने जनाइएको छ । खाद्य निरीक्षक मेहताको नेतृत्वमा भएको अनुगमनमा पर्यटन तथा उद्योग कार्यालयका कम्प्युटर अपरेटर ढुङ्गाना, बेनी नगरपालिकाका अधिकृत छैटौं आराम थापा, प्रहरीचौकी गलेश्वरका प्रहरी सहायक निरीक्षक बिक्रम तिवारी, जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रतिनिधि र पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्