वालिङमा अटो दुर्घटना हुँदा १६ महिने शिशुको मृत्यु


स्याङ्जा ।

स्याङ्जाको वालिङ नगरपालिकामा अटो दुर्घटना हुँदा १६ महिने शिशुको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका १० कान्छीबजार बस्ने ओम बहादुर लम्साल क्षेत्रीको छोरी १६ महिनाकी कायरा क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी निरीक्षक पावलसिंह लामाका अनुसार वालिङ नगरपालिका १ खहरेस्थित भित्री कच्ची सडक खण्डमा रामबाच्छाबाट खहरे तर्फ जादैँ गरेको लु १ ह ३६८६ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना भएको थियो ।

अटो दुर्घटनामा घाइते भएकी शिशुको उपचारको क्रममा गह्रौँ प्राथमिक अस्पताल वालिङमा मृत्यु भएको हो । अटोमा सावर चालकसहित चार जना रहेकोमा बालिकाको मृत्यु भए पनि अन्यलाई केही नभएको प्रहरीले जनाएको छ । अटो र अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

आजकाल ग्रामिण सडकहरुमा सवारी दुर्घटना बढेको प्रहरीको तथ्याङ्कले देखाउँछ । यसैगरि गत हप्ता मात्र जिल्लाको कालिगण्डकी गा.पा. १ प्युघामा बुटवलबाट करीकोट आउँदै गरेको ग.१ ज. ७६०४ नं. को जिप उकालोमा अचानक ब्याक हुन जांदा सडकबाट ३० मिटर तल खसेको थियो । उक्त दुर्घटनामा जिपमा सवार चालक सहित ८ जना मध्ये ८ जना नै गम्भिर घाइते भएर उपचार भैरहेको अवस्था छ । गत महिनाको कार्तिक २२ गते चापाकोट न.पा. –९ लांघालीटोल स्थित भित्रि पक्की सडक खण्डमा लु. ५६ प. ४२०१ नं. को मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा पल्टिदा मोटरसाइकल चालक यम ब. थापा घाईते भई चापाकोट अस्पतालमा सामान्य उपचार पश्चात पोखरामा थप उपचार भैरहेको छ ।

यसैगरि कार्तिक २१ गते पुतलीबजार न.पा. १३ हटिया स्थित भित्रि सडक खण्डमा ग.१० प. ४७५९ नं. को मोटरसाईकल र ग.२१ प.१५०९ नं. को मोटरसाईकल एक आपासमा ठक्कर खाँदा दुबै चालक र पछाडी सवार मानिसहरु घाईते भएका थिए । उनीहरुको पनि हालसम्म अस्पतालमा उपचार भैरहेको अवस्था छ । दुर्घटनामा मानिस मात्र हैन चौपायाहरुको पनि मृत्यु हुने गरेको छ । सवारी साधनको किसिमअनुसार दुर्घटनाको प्रकृति हेर्दा दुई पाङ्ग्रे सवारी साधन बढी दुर्घटनामा पर्ने गरेका छन् । दुई जनाभन्दा बढी चढ्दा, तीव्र गतिमा र मापसे गरेर चलाउँदा सन्तुलन बिग्रिएर धेरै दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।