काठमाडौं ।
नेपालले चार देश सम्मिलित टी–२०आई महिला सिरिजअन्तर्गत राउन्ड रोबिनको अन्तिम खेलमा जापानमाथि ६७ रनको सहज जित हासिल गरेको छ ।
नेपाल पहिलो दुई खेलमा पराजित हुँदै सिरिजको फाइनल खेल दौडबाट बाहिरिसकेको थियो । नेपाल ३ खेलमा १ जितसहित तेस्रो स्थानमा रह्यो । नेपालले आज तेस्रो स्थानका लागि हुने प्लेअफमा जापानविरुद्ध नै खेल्नेछ । जापान अंकविहीन हुँदै पुछारमा रहेको छ । नेपाल पहिलो खेलमा तान्जानियाविरुद्ध २७ रनले पराजित हुँदा दोस्रो खेलमा घरेलु टोली हङकङविरुद्ध ९ विकेटले हारेको थियो ।
नेपालले प्रस्तुत गरेको १ सय १४ रनको विजयी लक्ष्य दिएको थियो । यसको जवाफमा जापानले निर्धारित २० ओभरमा अल आउट हुँदै ४६ रन बनाएको थियो । जापानको ब्याटिङ ध्वस्त गर्न नेपालका बलर संगीता राई, अश्मिना कर्माचार्य र पूजा महतोले प्रमुख भूमिका खेले । संगीताले ३ विकेट लिन मात्र ५ रन खर्च गरिन् । यस्तै, अश्मिनाले १० रन दिएर ४ विकेट लिँदा पूजाले २ रन दिएर २ विकेट नै लिएकी थिइन् । जापानका लागि मेग ओगाबाले १७ रन र सेइका सुमिले १३ रन बनाए । अन्य कुनै ब्याटरले भने दोहोरो अङ्कको रनमा छुन सकेनन् ।
पहिले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकट गुमाउँदै १ सय १३ रन बनायो । नेपालका लागि पूर्वकप्तान रुबिना क्षेत्रीले ५ चौकाको सहायतामा सर्वाधिक ३८ रन बनाइन् । पूजा महतोले १३ रन बनाइन् । यस्तै, अर्की ओपनर सीता राना मगरले ९ रन बनाइन् ।
कप्तान इन्दु वर्माले ३१ बलमा २७ रनको छिटो पारी खेलिन् । यस्तै, काजल श्रेष्ठ ७ बलमा १५ रन बनाउँदै नटआउट रहिन् भने अश्मिना कर्माचार्य १ रनमा नट आउट रहिन् । जापानका लागि एलेना कुसुडा–नाइर्नले ४ ओभरमा २४ रन खर्चिदै सर्वाधिक २ विकट लिइन् ।
प्रतिक्रिया