कामपाका ७१ विद्यालयमा पुसदेखि नयाँ प्रअ

0
Shares

काठमाडौं । 

राजधानीका ७१ वटा विद्यालयमा पुस पहिलो साताबाट नयाँ प्रधानाध्यापकले काम थाल्ने भएका छन् । कामपा शिक्षा विभागले सार्वजनिक सूचना जारी गरी प्रअ र स्रोत शिक्षक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । जसमा १ प्रधानाध्यापक र ११ जना स्रोत शिक्षक माग गरिएको छ ।

कामपा शिक्षा विभागका अधिकारी सीताराम कोइरालाले मंसिर १ गतेबाट प्रक्रिया शुरू गरी पुस पहिलो साताभित्र विद्यालयमा नया प्रअ र स्रोत शिक्षकले काम थाल्ने जानकारी दिनुभयो । कमपाको शिक्षा ऐन २०७५ (संशोधनसहित) को दफा २९ (क) बमोजिम विद्यालयमा पाँच वर्षका लागि करारमा प्रधानाध्यापक छनोट गर्नका लागि दरखास्त आह्वान गरेको शिक्षा अधिकारी कोइरालाले जानकारी दिनुभयो । विभागले दरबन्दी मिलान तथा प्रधानाध्यापक नियुक्तिसम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त आह्वान गरेको हो ।

प्रधानाध्यापकका लागि कम्तीमा सम्बन्धित तहमा पाँच वर्ष स्थायी सेवा अवधि भएको हुनुपर्ने प्रावधान राखिएको छ । विभागले आधारभूत तह कक्षा १–५ का लागि ६, १–८ का लागि २१, माध्यमिक तह कक्षाका लागि ४४ गरी ७१ शिक्षकको दरखास्त माग गरेको छ । कामपा शिक्षा विभागले विद्यालय विकास प्रस्ताव तयारी र प्रस्तुतीकरणका आधारमा प्रधानाध्यापक नियुक्त गरिने जनाएको छ । शिक्षा अधिकारी कोइरालाले सबै प्रक्रियामा उत्तीर्ण भएका शिक्षकमध्येबाट ५ वर्षका लागि प्रअमा नियुक्ति दिने जानकारी दिनुभयो । प्रअ हुन इच्छुक शिक्षकले सम्बन्धित तहमा ५ वर्ष स्थायी सेवा गरेको हुनुपर्ने प्रावधान राखेको छ ।

विभागले छनोटसम्बन्धी व्यवस्था दरबन्दी मिलान तथा प्रधानाध्यापक नियुक्तिसम्बन्धी कार्यविधि २०८० बमोजिम हुने जनाएको छ । माध्यमिक तहका प्रअका लागि २ हजार, आधारभूतह १–५ का लागि १ हजार आधारभूत तह ९१–८० का लागि १ हजार ५ सय रुपियाँ तोकेको छ । ‘मंसिरभित्र सबै प्रक्रिया पूरा गरी पुसको पहिलो साताभित्र ७१ वटै विद्यालयमा प्रअले हाजिर गर्नेछन्’ –शिक्षा अधिकारी कोइरालाले भन्नुभयो । हाल कामपाभित्र ८४ वटा विद्यालय छन् । तीमध्ये करार अवधि सकिएका ७१ वटा विद्यालयमा मात्र प्रअ नियुक्ति प्रक्रिया अघि बढाएको हो ।
हाल जेलभित्र ३ वटा विद्यालय छन् । ती विद्यालयको प्रअ त्यहीँभित्रबाट छनोट हुने प्रावधान रहेको छ । जेलबाहेक महानगरभित्र रहेका ८६ वटा विद्यालयमध्ये २ वटा समायोजन भइसकेका छन् । विद्यालय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत कामपाले पाँचवर्षे अवधिका लागि प्रअ नियुक्ति गर्ने निर्णय गरेको हो ।

अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले शिक्षामा सुधार गर्न ५ वर्ष अवधिका लागि प्रअ नियुक्ति गर्नु सही निर्णय भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘विद्यालय क्षेत्र सुधार योजनाअनुसार देशैभरका विद्यालयमा ५ वर्षेअवधिसम्म प्रअ नियुक्ति गर्नु उचित भएको उहाँको भनाइ थियो । महानगरले स्रोत शिक्षक नियुक्ति प्रक्रिया शुरू गर्नु महत्वपूर्ण विषय भएको भण्डारीको भनाइ थियो । कामपाले एघार जना स्रोत शिक्षकका लागि पनि महानगरपालिकाले प्रक्रिया शुरू गरेको छ ।

कामपाको शैक्षिक नीति, योजना र कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गरी विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि र गुणस्तर सुधारका लागि विद्यालयलाई प्राविधिक सहयोग गर्न स्रोत शिक्षक नियुक्ति गर्न लागेको हो । विभागले जारी गरेको सूचनाअनुसार अंग्रेजी र नेपाली, सामाजिक शिक्षा र विज्ञान विषयका लागि २ जना, गणितका लागि ३ जना स्रोत शिक्षकको माग गरेको छ । स्रोत शिक्षकमा भर्ना हुनका लागि दरखास्त दिने समय मंसिर १ गतेसम्म तोकेको छ । स्रोत शिक्षक छनोट गर्न लिखित, प्रयोगात्मक र अन्तरवार्ता हुनेछ । परीक्षा मंसिर १८ गते सञ्चालन हुनेछ ।