ट्रस्टमार्फत् कुलपति बनाउन आग्रह

0
Shares

 काठमाडौं । 

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले स्थापित भइसकेको ट्रस्टको व्यवस्था गरी विशेषज्ञता हासिल गरिसकेका शैक्षिक व्यक्तित्वलाई खुला प्रतिस्पर्धाको आधारमा कुलपति बनाउनुपर्ने बताउनुभयो । प्रधानमन्त्रीलाई कुलपति बनाउँदा कैयांै विश्वविद्यालयका समस्या ओझेलमा पर्ने हुँदा हाल भइरहेको व्यवस्था हटाउन आग्रह गर्नुभएको छ ।

उपकुलपति बास्कोटाले आफूले गरेका, गर्न नसकेका र सुधार गर्नुपर्ने कामको बारेमा जानकारी दिनुभएको थियो । चारवर्षे कार्यकालमा आफूलाई सहयोग गर्ने त्रिविका पदाधिकारी, संस्थान प्रमुख, डीन, क्याम्पस प्रमुखलगायत सबैलाई धन्यवाद दिनुभएको थियो । हिजो आफ्नै कार्यकक्षबाट बिदाइ हुँदै गर्दा उहाँले विश्वविद्यालमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने बताउनुभयो । चारवर्षे कार्यकाल सुखद् हुन नसकेको अवस्थामा उहाँले यसरी त्रिविलाई सुुधार गर्न सकिन्छ भन्दै आफ्नो धारणा सार्वजनिक गर्नुभएको थियो । उहाँको कार्यकालमा करिब एक वर्ष तालाबन्दीले गर्दा काम कारबाहीमा पूर्ण प्रभाव भएको थियो भने करिब दुई महिनादेखि सेवा आयोगको कार्यालयमा लागेको ताला खुल्न सकेको छैन ।

उहाँले विश्वविद्यालयमा संकटकालबाहेक कुनै पनि आन्तरिक वा बाह्य संगठनको आवरणमा गरिने बन्दलाई सदाका लागि अन्त्य गर्नुपर्ने बताउनुभयो । कसैले बन्द गरेमा तत्काल स्थानीय प्रशासनले ताला खोल्नुपर्ने प्रावधान तयार गर्न राजनीतिक सहमति हुनुपर्ने उल्लेख गर्नुभयो ।
राजनीतिक हानथापबाट त्रिवि लथालिंग भएपछि दिक्क भएका उपकुलपति प्राडा बास्कोटाले पार्टीपिच्छे स्थापना भएका शिक्षक र कर्मचारीको संघसंगठनहरू विश्वविद्यालयमा हुने नियुक्तिको बेला ज्यादै सक्रिय हुने र आफूअनुकूल व्यक्तिको नियुक्तिपछि उसले गरेको कामको मूल्यांकन कहिल्यै नगरेर स्वार्थअनुसार प्रयोग गर्ने प्रवृत्ति रहेको आरोप लगाउनुभयो ।

उहाँले विद्यार्थी संघसंगठनको राजनीतिक प्रतिस्पर्धालाई शैक्षिक प्रतिस्पर्धामा रूपान्तरण गर्नुपर्ने, विश्वविद्यालयमा समयावधि सकिनुअघि नै पदाधिकारी नियुक्ति गरी रिक्त हुने पहिलो दिनबाटै पदाधिकारीले पूर्ण रूपमा तोकिएको काममा सहभागी हुने पद्धतिको विकास गर्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले प्रधानमन्त्री विश्वविद्यालयको कुलपति र शिक्षामन्त्री सहकुलपति हुने प्रावधान हटाउनुपर्ने टिप्पणी गर्नुभयो । प्रधानमन्त्रीले सरकारको नेतृत्व गर्नुपर्ने र पार्टी अध्यक्षको हैसियतले पार्टी सम्हाल्नुपर्ने, संसदीय दलको नेताको हैसियतमा संसद्मा पनि उत्तिकै समय व्यतीत गर्नुपर्ने भएकाले प्रधानमन्त्रीलाई कुलपति बनाउने प्रावधान हटाउनुपर्ने उल्लेख गर्नुभयो ।

बिदाइ कार्यक्रममा उपकुलपति प्राडा बास्कोटालाई रेक्टर प्राडा शिवलाल भुसाल र रजिस्ट्रार प्रा.पेशल दाहालले माला लगाएर बिदाइ गर्नुभएको थियो । बिदाइ कार्यक्रममा विश्वविद्यालयका डीन, संस्थान प्रमुख, विभागीय र प्रमुख, महाशाखा प्रमुखलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा रेक्टर भुसाल र रजिस्ट्रार दाहालले उहाँको कार्यकालमा धेरै सुधारका काम भएको बताउनुभएको थियो । उहाँको बिदाइसँगै त्रिवि उपकुलपति पद रिक्त भएको छ ।

त्रिवि ऐन २०४९ को दफा २१ ख अनुसार कुलपतिले त्रिवि सेवाका प्राध्यापकमध्ये एक जनालाई तीन महिनाका लागि नियुक्ति दिन सक्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार कुलपतिले एकदुई दिनभित्रै त्रिविको एक प्राध्यापकलाई उपकुलपतिको जिम्मेवारी दिने सम्भावना रहेको छ । स्रोतका अनुसार कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले रेक्टर प्राडा शिवलाल भुसाललाई उपकुलपतिको जिम्मेवारी दिन सक्ने सम्भावना छ । रेक्टर प्राडा भुसाल माओवादी कोटाबाट नियुक्ति हुनुभएको हो ।

भागबण्डा मिलाउँदा एमालेको भागमा उपकुलपति र रजिस्ट्रार परेको थियो । त्रिवि ऐनमा चारवर्षे कार्यकालका लागि उपकुलपति नियुक्ति गर्दा जुनसुकै विश्वविद्यालयबाट अध्ययन पूरा गरेको व्यक्तिलाई नियुक्ति गर्न मिल्ने उल्लेख छ भने ३ महिने उपकुलपति नियुक्ति गर्दा त्रिवि सेवाकै हुनुपर्ने व्यवस्था छ ।