राजनैतिक चुनौती र आर्थिक संकटको समाधानका लागि प्रमुख दलहरुको सहमतीमा राष्ट्रका नाममा अपिल जारी गर्ने: प्रधानमन्त्री प्रचण्ड


बुटवल ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनैतिक चुनौती र आर्थिक संकटको समाधानका लागि प्रमुख दलहरुबीच एक खालको समझदारी बनेकाले राष्ट्रका नाममा सामुहिक अपील गरिने बताउनुभयो ।

उहाँले दलहरुबीच सहमती भैसकेको र दुई दिन भित्रमा सामुहिक अपिल सार्वजनिक गरिने समेत खुलासा गर्नु भयो । सो अपिलमा संबिधान, गणतन्त्र र लोकतन्त्र माथी भैरहेको षडयन्त्र विरुद्ध प्रमुख दलहरु एकसाथ प्रतिवादमा जुट्नका लागि सामुहिक प्रतिवद्धता सार्वजनिक गर्न थालिएको प्रधानमन्त्री प्रचण्डले बताउनु भयो ।

उहाँले घुमाउरो पारामा मुलुकमा विभिन्न नाममा भैरहेका संसदीय मुल्यमान्यता विरुद्धका गतिविधीलाई निस्तेज गर्न सामुहिक प्रतिवद्धता सहितको अपिल सार्वजनिक गर्न लागेको आभास दिनु भयो । आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालको २५ औं वार्षिकोत्सवको अवसरमा बुटवलमा विहिवार बोल्दै मुलुकले भोगिरहेको आर्थिक दबाब कम गर्नका लागि सरकारले विशेष कार्योजना ल्याउने तयारी गरेको समेत बताउनु भयो् ।

अर्थतन्त्रमा परेको दबाब अन्त्य गर्नका लागि सरकारले पूरै शक्ति लगाइरहेको पनि बताउनु भयो । प्रधान मन्त्री दाहालले सरकारको लगातारको प्रयासले बैंकको ब्याजदरसमेत बिस्तारै घटिरहेको उल्लेख गदै बैंकको ब्याजदरलाई सकेसम्म सिंगल डिजित नभएर १० प्रतिशतमा सिमित गरिने दावि गर्नु भयो ।मौद्रिक नीति र वित्तीय क्षेत्रको सुधारको काम भइरहेको भन्दै उहाँले निराशा नहुन आम उद्योगी व्यवसायीलाई आस्वासन दिनु भयोे । मुलुकमा रेमिट्यान्स बढेको ,विदेशी मुद्रा सञ्चितीमा वृद्धि भएको र पर्यटन व्यवसाय समेत फस्टाउँदै गएकाले, राजश्व वृद्धिको ट्रेन्ड देखा परेकोले नआतिन सबैमा आग्रह गर्नु भयो ।

वर्तमान सरकार नागरिकको स्वास्थ्यको हकप्रति संवेदनशील रहेको भन्दै स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको र गरिब, बिपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका २८ सय शैया निशुल्क उपलब्ध गराइएको उहांले उल्लेख गर्नु भयो । उद्योग व्यवसाय क्षेत्र चलायमान बनाउने विषय सरकारको प्राथमिकतामा रहेकोछ, तिहार पछि विद्युत व्यापारमा पनि ठूलो घोषणा गर्दैछौं त्यसैले निराश नहुन सबैमा प्रधानमनत्री प्रचण्डले अपील गर्नु भयो । जग्गा कित्ताकाट फुकुवाले घर जग्गा कारोबार बढ्न थालेको, पर्यटक आगमन यसपटक इतिहासमै धेरै भएकाले अर्थतन्त्र चलायमान हुने क्रममा रहेको प्रधानमन्त्रीको भनाईथियो । आफ्नो भारत र चीन भ्रमणका प्रतिफल छिट्टै देखिने पनि उहाँले उल्लेख गर्नु भयो ।

हाल एक सय शैयाको क्षमतामा संचालित अस्पतालमा बिरामीहरुको चाप र आवश्यकतालाई मध्यनजर गरी तीन सय शैयाको अस्पतालमा स्तरोन्नति गर्न लागिएको हो । वि.स. २०५५ कार्तिक १६ मा आम्दा नेपाल, बुटवल उपमहानगरपालिका तथा बुटवल उद्योग वाणिज्य संघ बीच त्रि–पक्षीय समझदारी भई ५० शैयाबाट अस्पतालको सुरुवात भएको थियो । अस्पतालले यसै वर्षदेखि आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत प्रमाणपत्र तह नसिङ, सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी गरी तीन वटा विषयको शैक्षिक कार्यक्रम संचालन गर्र्न अस्पतालमा नर्सिंङ कलेज शुभारम्भ र थप २ सय बेडको भवनको सिलान्यास समेत प्रधानमन्त्री प्रचण्डले गर्नु भयो ।

अस्पतालमा आमा सुरक्षा कार्यक्रम यसै वर्षदेखि संचालन हुने गरि नगरपालिकाबाट बजेट विनियोजित गरिएको अस्पतालका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । समारोहमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लीला गिरी, आम्दा इन्टरनेसनलका अध्यक्ष डा. शिगेरु सुगानामी, आम्दा नेपालका अध्यक्ष डा. अनिलकुमार दास, ,बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, अस्पतालका मेडिकल सुपरिटेनदेन्त डा. राजेन्द्र प्रसाद बस्याल लगायतले आम्दा अस्पताललाई महिला र बालबालिकाको उपचारमा नमूना र सर्वसुलभ अस्पतालको रुपमा विकास गर्न जरुरी रहेको बताउनु भयो ।