डब्ल्यूएचओको क्षेत्रीय निर्देशकमा साइमा


काठमाडौं  । 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदका लागि भारतको नयाँ दिल्लीमा भएको बंगलादेशकी साइमा बाजेद निर्वाचित हुनुभएको छ ।

भारतको नयाँ दिल्लीमा बुधबार बसेको क्षेत्रीय कमिटीको बैठकले बंगलादेशकी राष्ट्रपति शेख हसिनाकी छोरी साइमा बाजेदलाई दक्षिण एसियाली क्षेत्रीय निर्देशक पदका लागि चयन गरेको हो । यो पदका लागि नेपालका शम्भुप्रसाद आचार्यले पनि उम्मेदवारी दिनुभएको थियो ।

बुधबार दिउँसो भारतको नयाँ दिल्लीमा भएको चुनावमा १० मत खसेकोमा नेपालका शम्भुप्रसाद आचार्यले २ मत प्राप्त गरी पराजित हुनुभएको छ । उहाँको प्रतिस्पर्धी बङ्गलादेशका उम्मेदवार साइमा बाजेदले ८ मत प्राप्त गर्नुभएको थियो ।
डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्यान्ड र टिमोर लिस्टे गरी ११ देश सदस्य राष्ट्र रहेका छन् । तर, म्यानमारलाई अहिले भोट गर्ने अधिकार दिइएको छैन । त्यसैले यसपटक १० देशको भोटबाट क्षेत्रीय निर्देशकका लागि मतदान गरिएको थियो ।

यही, निर्वाचनका लागि सदस्य राष्ट्रका स्वास्थ्य मन्त्रीहरूका बीच भारतको नयाँ दिल्लीमा गत सोमबारदेखि जारी सेरो बैठकको तेस्रो दिन बुधबार नयाँ निर्देशक पदका लागि निर्वाचन भएको हो ।उक्त पदमा नेपाल र बंगलादेशका उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए । नेपालले डब्लूएचओमै कार्यरत शम्भुप्रसाद आचार्यलाई उम्मेदवार बनाएको थियो । उहाँसँग बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले प्रतिस्पर्धा गर्नुभएको थियो ।

सेरोमा पालैपालो सबै देशका स्वास्थ्यमन्त्रीहरू क्रमशः क्षेत्रीय अध्यक्ष हुने नियम भए पनि क्षेत्रीय निर्देशकको पद भने सदस्य राष्ट्रबीचको मतदान वा सहमतिबाट चुनिँदै आएको छ । हाल क्षेत्रीय निर्देशक पदमा भारतका डा. पुनम क्षेत्रपाल सिंहले दोस्रो कार्यकाल पूरा गर्दै हुनुहुन्छ ।

बैठकले छनोट गरेको नामलाई आगामी २२ देखि २७ जनवरीमा स्विट्जरल्यान्डको जेनेभामा हुने डब्ल्यूएचओ बोर्ड बैठकमा पेस गरिने छ । नवनियुक्त क्षेत्रीय निर्देशकले फेब्रुअरी १, २०२४ देखि पाँच वर्षका लागि कार्यभार सम्हाल्नेछन् ।