दक्षिण अफ्रिकी टोलीको विश्वकपमा कीर्तिमान



काठमाडौं । आईसीसी क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकी टोलीले उनीहरुको पहिलो खेलमै विश्वकपको इतिहासमा तीन नयाँ कीर्तिमान राख्न सफल भएको छ ।

शनिबार दिल्लीस्थित अरुण जेट्ली रंगशालामा दक्षिण अफ्रिकी टोलीले विश्वकप इतिहासमा उच्चतम योगफल, छिटो शतक र एउटै खेलमा तीन शतकको कीर्तिमान राखेको हो । टोलीले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ४ सय २८ रन बनाएको थियो । यो योगफल ५० ओभरको विश्वकपको इतिहासमा उच्चतम बन्यो र पछिल्लो कीर्तिमान छायामा प¥यो ।

यसअघि विश्वकपमा यो कीर्तिमान अस्टे«लियाली टोलीको नाममा रहेको थियो । २०१५ को क्रिकेट विश्वकपमा अस्टे«लियाले अफगानिस्तानविरुद्ध पर्थको रंगशालामा ४ सय १७ रनको योगफल बनाएको थियो । अब, यो कीर्तिमान दक्षिण अफ्रिकाको नाममा गएपनि भारतमा प्रतियोगिता भर्खर शुरु भएकोले अझै विश्व कीर्तिमान बन्न सकिने अनुमान लगाइएको छ ।

विश्वकप इतिहासमा एकै खेलमा तीन खेलाडीले शतक प्रहार गरेको यो पहिलो पटक हो । यसअघि विश्वकपमा दुई खेलाडीले मात्रै एकै खेलमा शतक प्रहार गरेको कीर्तिमान रहेको थियो । दक्षिण अफ्रिकी टोलीका ओपनर क्विन्टन डिकक, रास्सी भान डर डुसेन र एडेन माक्रमले शतक प्रहार गरेका हुन् । जसमा माक्रमले छिटो शतक प्रहार गरेका थिए ।

माक्रमले विश्वकपमा छिटो शतक प्रहार गर्ने कीर्तिमान राखेका छन् । उनले ४९ बलमा शतक प्रहार गर्दै यसअघि आयरल्यान्डका केभिन ओब्रायनले ५० बलमा राखेको कीर्तिमान तोडे । ओब्रायनले सन् २०११ को विश्वकपमा इंग्ल्यान्डविरुद्ध कीर्तिमान राखेका थिए ।

तर, एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो शतक प्रहार गर्ने कीर्तिमान दक्षिण अफ्रिकाकै खेलाडीको नाममा छ । एबी डिभिलियर्सले २०१५ मा वेस्टइन्डिजविरुद्ध ३१ बलमा शतक प्रहार गरेका थिए । क्रिकेट विज्ञहरुले यस विश्वकपमा यो कीर्तिमान पनि तोडिन सक्ने बताइरहेको छ ।

चौका, छक्काको वर्षा

श्रीलंकाली टोलीका बलरहरु घातक बन्न नसक्दा दक्षिण अफ्रिकी ब्याटरहरुले पुरै ५० ओभरमा चौका, छक्काको वर्षा गरे । खेलमा दक्षिण अफ्रिकाबाट ४५ चौका र १४ छक्का प्रहार भएको थियो । शुरुमै कप्तान टेम्बा बभुमाको विकेट लिएर हौसिएको श्रीलंकाली टोलीलाई त्यसपछि भने निरासा हात प¥यो । डिकक र डुसेनले दोस्रो विकेटका लागि दोहोरो शतकीय साझेदारी गर्दै विशाल योगफलतिर टोलीलाई अग्रसर गराएपछि नै श्रीलंकाली बलर निरास बन्नुप¥यो ।

८४ बलमा १ सय रन बनाएका डिककले १२ चौका र ३ छक्का प्रहार गरे । यो उनको विश्वकपमा पहिलो शतक समेत हो । यस्तै १ सय ८ रनमा आउट भएका डुसेनले १३ चौका र २ छक्का प्रहार गरे । उनको पनि विश्वकपमा पहिलो शतक हो । उनीहरुले दोस्रो विकेटका लागि २ सय ४ रनको साझेदारी गरेका थिए । यसपछि माक्रमले १४ चौका र ३ छक्का प्रहार गर्दै १ सय ६ रन बनाएका थिए । यस्तै हेनरिक क्लासेनले ३२ रन बनाउँदा १ चौका र ३ छक्का प्रहार गरेका थिए । यसैगरी डेभिड मिलरले २१ बलमा ३९ रन बनाउँदा ३ चौका र २ छक्का सामेल थिए ।

४ बलरले ८० भन्दा बढी रन खर्चे

श्रीलंकाका चार बलरले ८० भन्दा बढी रन खर्चेको यो एकदिवसीय विश्वकप इतिहासमा पहिलो पटक हो । तीव्र गतिका बलर मथिसा पाथिरानाले १० ओभरमा १ विकेट लिन ९५ रन खर्चे । कसुन रजिथाले १० ओभरमा १ मेडन राखेपनि ९० रन खर्चे भने १ मात्रै विकेट हासिल भयो । त्यस्तै दिलशान मदुशानकाले १० ओभरमा ८६ रन खर्चेर २ विकेट लिए । दुनिथ वेलालागेले १० ओभरमा ८१ रन खर्चेर १ विकेट लिए ।

बंगलादेशको जित (यो बक्समा राख्ने)

भारतमा जारी विश्वकपअन्तर्गत शनिबार भएको पहिलो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो । अफगानिस्तानले दिएको १ सय ५७ रनको सामान्य लक्ष्य बंगलादेशले ४ विकेट गुमाएर ३४.४ ओभरमा प्राप्त गरेको हो ।

टोलीको जितमा नजमुल हुसेन शान्तोले सर्वाधिक ५९ रन जोडे । यस्तै मेहदी हसन मिराजले ५७ रन बनाए । अन्यले खासै उल्लेखनीय रन बनाएनन् । अफगानिस्तानको बलिङमा राशिद खानलाई विकेट हात परेन ।

यसअघि धर्मशाला रंगशालामा भएको खेलमा अफगानिस्तानी टोली ३७.२ ओभरमा १ सय ५६ रन बनाएर अलआउट भएको थियो । ओपनर राहामनुल्लाह गुर्बाजले सर्वाधिक ४७ रन बनाएका थिए । बंगलादेशका बलरमा शकिब अल हसन र मेहदी हसनले ३÷३ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्